Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

गरीवि न्यूनीकरण नेपालको लागि एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा भएको छ । जस्को लागि नेपाल सरकारले आफ्नो तथा दातृ निकायको अनुदान तथा ऋण सहयोग विभिन्न आयोजना, परियोजना, योजना, कार्यक्रम आदि मार्फत लगानी भई रहेको छ । यी कार्यक्रम सरकारको आफ्नै संयन्त्र तथा गै.स.स. द्धारा समूह, संजाल, संस्था, केन्द्र मार्फत गरीव विपन्नसम्म पुर्याउन प्रयास जारी राखेको छ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न दातृ संस्थाहरुको सहयोगमा सन २००८ देखि स्थानीय शासन तथा सामुदायिक विकास मार्फत गरिबी न्यूनीकरण गरी स्थानीय तहको सामाजिक, आर्थिक समृद्धिमा योगदान पुरयाउने लक्ष्यले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम लागु गरिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य प्रभावकारी सेवा र नागरिक सशक्तिकरणका लागि स्थानीय सरकारको संस्थागत  तथा कार्यगत सुधार गर्ने हो ।

यो कार्यक्रमले गरीवी न्यूनीकरणका लागि देशको प्रत्येक गा. वि.सं तथा न.पा.का केही बडामा गरीव विपन्न परिवारहरुलाई छनौट गरी २५ देखि ३० जनाको नागरीक सचेतना केन्द्र स्थापना गरी जीविकोपार्जन सुधार कार्यक्रम संचालनमा रहेको छ । यस कार्यक्रम अन्तर्गत नागरीक सचेतना केन्द्रलाई रु १ लाखको अनुदान सहयोग जि. वि. स. तथा न.पा. मार्फत केन्द्रको आफ्नै बैंक खातामा जाने व्यवस्था गरिएको छ । नागरीक सचेतना केन्द्रलाई सहजीकरण गर्न प्रत्येक गा.वि.स. वा न.पा.मा सामाजीक परिचालन संचालन भएका बडाहरुमा एक एक वटा स्थानीय सामाजीक परिचालकको व्यवस्था भएको छ । जीविकापार्जन सुधार कार्यक्रम स्वःरोजगार वा ज्यालामा आधारित रोजगारीको माध्यमवाट व्यक्ति, घरपरिवार तथा समुदायका सदस्यहरुको जीवनस्तर सुधारका लागि सञ्चालन गरिने आर्थिक तथा गैर आर्थिक क्रियाकलापहरुको योजना हो । जीविकोपार्जन सुधार योजनाले नागरिकहरुको दिगो आर्थिक सशक्तिकरण गरी  गरीवी न्युनीकरणमा सहयोग गर्ने गर्दछ । यो योजनाले नागरिक सचेतना केन्द्रका सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, अति विपन्न र गरिब सदस्यका मागहरु सम्बोधन गर्ने, स्थानीय निकाय र समुदाय बीचको अन्र्तसम्बन्ध बलियो वनाउने तथा सरकारी तथा गैर सरकारी सेवा र श्रोतमा विपन्न परिवारहरुको पहुँच स्थापित गर्दै लैजाने जस्ता मुख्य उद्देश्यहरु रहेको छ ।

नागरिक सचेतना केन्द्रमा विभिन्न समसामयिक विषयमा छलफल गर्ने, गरिबीका अन्तर्निहित कारणहरुको पहिचान र विश्लेषण गर्ने, सार्वजनिक सेवाहरुमा विपन्न तथा लक्षित वर्गहरुको पहुंच वढाउने जस्ता कार्यहरु सामाजिक परिचालकहरुबाट हुनुका साथै सदस्यहरुकोे आर्थिक सशक्तिकरणका लागि आय आर्जनका कार्यक्रमहरु, व्यवसाय विकास, उत्पादनमूलक आर्थिक पुर्वाधारहरुको निर्माण जस्ता पक्षहरुमा सहयोग पु¥याउन जीविकोपार्जन सुधार कार्यक्रम लागु गरिएको छ ।

यस कार्यक्रममा जीविकोपार्जन सुधार कार्यक्रम लागु भए पश्चात नागरीक सचेतना केन्द्रका सदस्यहरुलाई  धेरै किसिमले फाइदा पु¥याएका छन् । अनुदान रकम प्रवाहबाट केन्द्रको सप्ताहिक बैठक नियमित रुपमा बस्न थालेका र सामाजिक परिचालकको उपस्थिति पनि बढीको छ । प्रत्येक नागरीक सचेतना केन्द्रमा आउने रु ३० हजार व्यवस्थापन खर्चको सदुपयोगमा केन्द्रका सदस्यहरुको ध्यान पुगेको छ । कतिले व्यवस्थापन खर्चको रकम केन्द्रको बैठकका लागि कुर्सिहरु, त्रिपाल तथा कतिले सामाजीक कार्यमा सहयोग पुग्ने भोज भतेरका भाडा कुडा त कतिले आफ्नो आर्थिक उन्नतिका लागि घुम्ती कोषमा समेत मिसाइ लगानी गरिरहेका उदाहरणहरु पाइन्छ । उक्त १ लाख अनुदान रकम घुम्तीकोषको रुपमा सम्पन्नताको आधारमा सदस्यहरुमा न्यून व्याजमा आफैले रोजेका, बजार माग भएका, स्थानीय श्रोत, साधन तथा शीपमा आधारित आय आर्जन कार्यमा प्रयोग भई रहेको छ ।

हालसम्म यस क्षेत्रीय इकाई अन्र्तगतका १० जिल्ला तथा २९ न.पा.हरुमा आ.व. २०६९र७०  मा १७४, २०७०र७१मा ३६३ र २०७१र७२मा ३१३ गरी हाल ८५० ना.स.के.हरुले जीविकोपार्जन सुधार अनुदान प्राप्त गरी सकेका छन् । अझै गठित ना.स.के.हरु मध्ये १७ नासकेहरु अनुदान प्राप्त गर्न वाँकी रहेका छन् । हालसम्म ६८८ नासकेहरुले अनुदान रकम ८२ प्रतिशत महिला, ५१ प्रतिशत दलित । २१ प्रतिशत जनजाति सहित ८,२८० जना सदस्यहरुमा परिचालन गरी आय आर्जन कार्यहरुमा लागेका छन् । संचालित व्यवसायहरु मध्ये सबै भन्दा बढी ६७ प्रतिशत पशुपालनमुलक, १६ प्रतिशत साना व्यवसायमुलक, १४ प्रतिशत कृषिमा आधारित र सबैभन्दा कम २ प्रतिशत बनमा आधारित रहेका छन् । उक्त व्यवसाय संचालनमा नासकेका सदस्यहरुको लगानी २३ प्रतिशत रहेको छ भने १ प्रतिशत मात्र अन्य नियायहरुको छ । अधिकांस ७६ प्रतिशत कार्यक्रमको अनुदान रकमको रहेको छ ।

यस योजनाबाट केन्द्रका सदस्यहरुले रु. ३ हजार देखि रु २५ हजारसम्म रकम लिई विशेष गरी बाख्रा, बंगुर, कुखुरा तथा गाई भैसी पालनमा लगाएका छन भने, थोरैले तरकारी खेती र थोरैले स साना सेवामुलक ब्यवसायमा लगानी गरेका छन् । यसबाट आम्दानी लिन शुरु गरि सकेका छन र आम्दानीबाट आफुले बुझाउने किस्ता समेत बुझाई रहेका छन् । यसबाट समुदायमा सरकार प्रतिको नकरात्मक भावना हट्न सहयोग पुग्नुका साथै नागरीकहरुले आफ्ना माँग स्थानीय निकायमा राख्न सबल भई रहेका छन् । महिलाहरुको दैनिक जीवनमा आइपर्ने खाँचोहरु टार्न सहयोग पुग्ने, बालबालिकालाई पढाउन तथा बैकल्पिक रोजगारीका अवसर सृजनामा समेत सहयोग पुगिरहेको छ । केही उदाहरणहरु नमूनाको रुपमा तल उद्धित गरिएको छ ।

AttachmentSize
PDF icon best_practices_lip_and_sip_final.pdf3.98 MB

Tags: 

Category: 

 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.