पोखरा उपत्यकाका सवैजसो तालहरुमा जलकुम्भि झारले दुख दिने गरेको छ । वर्षेनी यो झारलाई तालवाट हटाएर नजिकै किनारामा थुपारिंदै आएको अवस्थामा पैसा र श्रमको लागत उच्च रहेको छ । यसै सन्दर्भमा वेटल्याण्ड फ्रेण्डस अफ नेपाल (Wetland Friends of Nepal) ले रुपातालको जैविक स्रोत संरक्षण अभियान नामक संस्थासंगको साझेदारी र टोयोटा वातावरणीय कृयाकलाप अनुदान कार्यक्रम (Toyota Environmental Activities Grant Program) को आर्थिक सहयोगमा जलकुम्भि झारवाट कम्पोष्ट मल वनाउने प्रविधिको विकास गरेको छ । तिन महिना लामो प्रयोगात्मक अनुसन्धान र रासायनिक जांचवाट यो प्रविधिको विकास भएको हो ।
यो प्रविधिअनुसार जलकुम्भि झारलाई ससाना टुक्राहरुमा काटिन्छ । यी टुक्राहरुलाई गोवर, तोरीको छोक्रा, कृषि चुन, सुकेको पात, सजिवनको हरियो पात र काठको धुलोसंग निश्चित मात्रामा मिलाएर कालो प्लाष्टिकको वोरामा तह तह पारेर राखी अन्य साधारण कम्पोष्ट वनाउने तरिका अपनाई कुहिन दिइएको थियो । अढाई महिनापछि यो मललाई घाममा सुकाइयो र रासायनिक जांचको लागि क्षेत्रिय माटो परिक्षण प्रयोगशाला पोखरामा पठाइयो । यो जांचमा यसरी तयार पारिएको कम्पोष्टमा पिएचमान ८.४, नाइट्रोजन १.७८ प्रतिशत, फोस्फोरस ०.९३ प्रतिशत र पोटासियम ०.७५ प्रतिशत पाइयो । यी तथ्यांकले जलकुम्भिवाट वनाइएको कम्पोष्ट मल कृषि वालीमा प्रयोग गर्न उपयोगी हुन्छ भन्ने पत्ता लागेको छ ।
सिमसार संरक्षणविद तथा लिबर्ड पोखराका कार्यक्रम अधिकृत गान्धिब काफ्लेका अनुसार पोखराका तालहरुमा जलकुम्भिको वढ्दो फैलावटले जैविक विविधता र पर्यावरणीय स्वास्थ्यलाई नै प्रतिकुल असर पुर्याउन सक्ने सन्दर्भमा यस प्रविधि अति नै सान्दर्भिक र उपयोगि हुन सक्दछ । उनका अनुसार यो प्रविधिवाट उत्पादित कम्पोष्ट मलको प्रयोगले रासायनिक मलको खपतलाई कम गरि तालको पानी स्वस्थ राख्न सहयोग पुर्याउने र अर्को तर्फ तालको जैविक विविधता संरक्षणमा सहयोग पुग्न सक्दछ ।
जैविक स्रोत संरक्षण अभियान रुपातालका अध्यक्ष लेखनाथ ढकालका अनुसार यो प्रविधिलाई प्रचारप्रसार गरि प्रयोग गरिएमा जलकुम्भि हटाउन वर्षेनी गरिने खर्चमा कमि आउनुको साथै आयआर्जनमा समेत टेवा पुग्ने देखिन्छ । आगामी दिनमा विभिन्न अवस्था र पदार्थको मिश्रणमा थप प्रयोगहरु गरेमा जलकुम्भि झारवाट विभिन्न स्तर र गुणका कम्पोष्टहरु वनाउन सकिने देखिएको छ ।
Category:

