नेपालको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ७६ प्रतिशत कृषक परम्परागत र निर्वाहमूखी कृषिमा लागेर जीवन यापन गरिरहेका छन । मुलुकको अर्थतन्त्रमा करीव ४० प्रतिशत हिस्सा ओगेटोको कृषि क्षेत्रको विकास प्रति सरकार, निति निर्माता, योजनाविद तथा हामी सबैले गम्भीर हुनु नितान्त जरुरी देखिन्छ । नेपालमा विभिन्न समयमा गरिबी निवारण सम्वन्धी आवधिक तथा दीर्घकालीन योजना लागु भएपनि गरिबी प्रतिशत घट्नै न छाडेकेा विभिन्न कारणहरु हुन सक्दछन् । सायद त्यसैले गरिबी निवारणको नाराबाट गरिबी घटाउने नारामा पुगेको छ ।
नेपालको अन्य विकासको क्रममा कृषि विकास जुन परम्परागत प्रणालीमा आधारित थियो त्यसलाई समयानुसार जनसंख्यावृद्धिको मागसंग अनुसार खाद्यपदार्थ पूर्ति गर्न आधुनिक खेती प्रणालीवाट गर्नु पर्ने हामी सबैको वाध्यता रहेको छ । सोही अनुरुप हामी जैविक खेती प्रणालीवाट रसायनिक, एकल खेतीवाट बहुबाली, मिश्रित, अन्तरबालीप्रणली गरी सघन खेती गर्नु पर्ने भएको छ । सघन खेतीमा कम समयमा, कम जग्गामा, कम लागतमा बढी भन्दा बढी फाइदा लिन खोज्दछौं । कृषि क्षेत्रमा आधुनिकिकरण भएपछि सरकारी / गैरसरकारी तथा कृषक स्वयंको पहलवाट रसायनिक पदार्थमा बढी जोड दिइयो । जुन रसायनिकमल, किरानाशक, रोगनाषक, ढुसिनाषक,मुसा नाषक, जुकानाषक, झारपातनाषक आदिको रुपमा प्रयोग हुन थालियो । कृषि प्राविधिकको रसायन प्रयोग बारे एक चोटिको सल्लाहले कृषकको उत्पादनमा असर पर्यो भने त्यही रसायन कहींबाट ल्याएर पटक पटक अनियन्त्रित रुपमा प्रयोग हुन थालियो । बिगतमा रसायनिक मल तथा विषादीको प्रचार प्रसारको लागि राती राती पनि प्राविधिकहरुले कृषकको खेतबालीमा प्रयोग गर्ने गरेका थिए । रसायनिक पदार्थ तैयारी अवस्थामा रहेको, बालीमा तुरन्तै असर गर्ने, धेरै थोक जुटाइ राख्नु नपर्ने, सस्तो सजिलो भएकोले प्रविधिकहरुले पनि यिनै रसायनिक पदार्थहरुकेा सहाराले कृषिसंग सम्बन्धित सबै समस्यासमाधान /आवश्यक्तालाई पुर्ति गर्न थालियो । कृषकहरु पनि त्यही सल्लाह अनुसार रसायनिक पदार्थको प्रयेाग गरिदै जाँदा धेरै समय पछि कृषकले पनि कृषिको अस्त्र शस्त्रको रुपमा एक मात्र रसायनिक पदार्थलाई मान्नु स्वभाविकै भयो । फलस्वरुप विश्वमा नै रसायनिक मल तथा विषादीको प्रयोग अनियन्त्रित, अनियमित, अव्यवस्थित, अनुचित मात्रा /तरीका/ अनउपयूक्त समयमा गर्न थालिएको छ ।
विभिन्न दशकमा विभिन्न किसिमका विषादीहरुको विकास हुने क्रममा सन १९५०मा हाइड्रोक्लोरिनेटेड यौगिक, १९६०मा अगार्नोफोस्फेट यौगिक, १९७०मा कार्बोमेट यौगिक, १९८०मा सिन्थेटिकपाइरथ्व्राइड समुह तथा १९९०मा वानस्पतिक विषादिको विकास भयो । वैज्ञानिकहरुद्वारा खाद्यान आपूर्ति, अन्यसमस्या समाधान र सुरक्षाको दृष्टिकोणले विभिन्न किसिमका विषादीहरुको अविष्कार भएको हो र कृषकहरुले पनि बढी प्रभावकारी विषादीहरुको छनौट गरी प्रयोग गर्दै गएको हो ।
अत: अनियन्त्रित, अनियमित, अव्यवस्थित तथा अनुचित व्यापक विषादीको प्रयोगको परिणाम विश्वमा नै एउटा ठुलो समस्याको रुपमा खडा भएको छ । विषादीको नकरात्मक असरहरुले कसैलाइ छोडेको छैन, चाहे मान्छे होस चाहे पशुवस्तु, चाहे स–साना जीव जन्तु, पानीको जीव, चाहे माटोको जीव । कृषकहरुले नगदे बालीमा त रोगकिरा नियन्त्रण गर्न विषादीको प्रयोग गर्ने गर्छन अब त खाद्यान वाली समेतमा विषादीको प्रयोग हुन थालेका छन । परिणाम स्वरुप अन्नबाली दाइं गर्ने बेला गोरु, घाँसपराल खाने बेलामा गाई वस्तु मर्ने गरेका छन भने दूध खाएर मान्छे बाल बालिका मरेका घटनाहरु सुन्ने गर्दछ । बिषादीको विकल्पमा वैज्ञानिकहरुले एकिकृत शत्रुजीव व्यवस्थापन, एकीकृत खाद्यतत्व व्यवस्थापन, एकीकृत रोग व्यवस्थापन तथा एकीकृत झारपात व्यवस्थापनका निति लागु भएका छन । ती सबैलाई समेटेर एकीकृत बाली व्यवस्थापन तर्फ सबैको ध्यान आकृष्ट भएको छ । यी सवै यूक्ति बढदो बिषादीको प्रयोगमा कमी ल्याउन प्रयास गरियो तर खासै कमी देखिएन ।
विषादीको नकारात्मक असरहरु
विषादीयुक्त तरकारी र फलफूलको सेवनबाट नसा,श्वासप्रश्वास, उच्चरक्तचाप, गर्भपतन, लुलालङगडो, मृगौला र कलेजोको रोग, दामा, कैंसर, छालाको रोग, नपुसंकता, रक्तअल्पता जस्ता रोगहरु मानव स्वास्थ्यमा देखिन्छ भने त्यस्तै पशुवस्तुमा विषादी प्रयोग भएको घास पराल, भुस, दाना खांदा नपुसकता, छालाको रोग, रक्तअल्पता, गर्भतुहिने, आंखाको रोग आदि देखिएको छ । पानीमा पाइने विभिन्न किसिमका जीवहरु जस्तै: माछा, कछुवा, गंगटो, शंखेकिरा, भ्यागुतो आदिको संख्यामा धेरै नै कमी भएको छ । माछा मारी आफ्नो जिविका चलाउने समूदायले यसको असर प्रत्यक्ष नै भोग्नु परेको छ । पानीमा पाइने विभिन्न किराहरु तथा शुक्ष्म जीवाणुहरुको संख्यामा पनि धेरै कमी आएको छ । हावामा पनि ठूलो प्रदूषण पारेको छ । जसले गर्दा मानव, पशुवस्तु तथा जीवजन्तुहरुलाई स्वास फेर्न गाह्रो भएको छ साथै ओजोन तहमा समेत प्वाल पार्ने कारक बनी पृथ्वी तात्ने जस्ता असरहरु भोग्नु परेको छ । त्यस्तै प्रकृतिमा पाइने मित्रजीवहरु जुन हाम्रो जनजीवनमा फाइदा पुरयाउछ जस्तै ःसर्प, माउसुली, माकुरा, छेपारो, लाटोकोसेरो, खपटे, जालीकिरा, झिंगा, बारुला, कमलकोटी, कमिला, चरा चुरुगीं तथा फाइदाजनक शूक्ष्म जिवाणुहरुको संख्यामा कमी भई प्राकृतिक असंन्तुलन बनाएको छ । प्राकृतिक शत्रुको कमी भएर शत्रुजीवहरुको संख्यामा तिब्र वृद्धि भएको छ । धेरै किसिमका विषादीहरु किराहरुले पचाईसकेका छन । विषादीको अनुचित प्रयोगले किराहरुको प्रजनन क्षमतामा वृद्धि भएको छ । यी सबै कारणले शत्रुजीवको संख्यामा वृद्धि र मित्रजीवको कमि अथवा नास भई असन्तुलन भएको छ ।
माटोमा पनि विषादीले धेरै किसिमका नकारात्मक असर परेको छ । माटोको जैविकगुण व्यापक विषादीको प्रयोगले नष्ट हुन पुगेको छ ।माटोमा ठूला जीव जस्तै: गडयौला, किर्थो आदि मरेर जान्छ साथै शूक्ष्म जीवाणुहरु विषादीको प्रयोगले नास हुन्छन । फलःस्वरुप माटोको उर्वराशक्ति कम हुन्छ । यदि यस्तै निरन्तर रहयो भने सम्पुर्ण कृषि योग्य जमीन चटानमा / मरुभुमिमा परिणत हुने खतरा देखिन्छ ।
विषादिको असर वोट विरुवामा न पुरयाएको हैन । झारपात नासी विषादी तथा दैहिक विषादिले पनि विरुवाको विभिन्न क्रियाक्लाप प्रणालीमा केही न केही असर गरेकेा हुन्छ साथै धेरै संवेदनसील जातका विरुवालाई नासिने /लोप भइ जैविक विविधतामा समेत असर पारेको छ ।
कृषकलाई आम्दानी दिने खालका किराहरु जस्तै: माहुरी, रेशम किरा, लाह किरा, परागसेचन गर्ने धेरै जसो किराहरुलाई नास गरेर कृषि उत्पादनमा ठूलो ह्रास ल्याएको छ ।
यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष असरहरुको सामना हामीहरुको आफ्नै कुकृतिले गर्दा भोग्नु परेकेा छ । यस्तो चुनैातीको घडीमा नेपाल जैविक विविधतको धनी राष्ट्र विभिन्न वनस्पतिहरुको प्रयोग गरेर रसायनिक विषादीको विकल्पमा गर्न सकिन्छ । प्रकृतिमा रहेको वनस्पतिको आ–आफनै किसिमको गुण हुन्छन् । परापूर्वकाल देखि नै धेरै वोट विरुवाको विभिन्न भागहरु मानव, पशुवस्तु तथा विरुवाहरुमा रोग किरा नियन्त्रण गर्नप्रयोग गर्ने गरिन्छ । तर रसायनिक विषादिको विकल्पमा वानस्पतिक विषादिको प्रयोग हुने प्रशस्तै ठाउँ रहेको छ । यस्को लागि अहिले सम्म खासै अनुसंन्धान न भै हचुवाको भरमा यो यो वस्तु मिसाएर बनाइने तर उक्त चीजहरुमा केके पाइन्छ, कुन कुन रोग किराको लागि उपयूक्त हो, कति कति मात्रमा कसरी बनाउने, कहिले प्रयोग गर्दा धेरै प्रभाबकारी, कुनकुन समस्याको लागि, ती पदार्थ/ विरुवाहरु कहाँ पाइन्छ ? भने खासै किटान नभएकोले ती सबैको बारेमा अनुसंधान गर्नु नितान्त आवश्यक देखिन्छ ।
वनस्पतिक विषादिको प्रयोग गर्न हाम्रो देशको लागि प्रवल संभावना छ । किनकि यहाँ अनेकौ किसिमका वनस्पतिहरु प्रशस्तै स्थानिय स्तरमा पाइन्छ साथै श्रमिक पनि सस्तो छ । वानस्पतिक विषादिले गर्दा कृषि उत्पादन को लागत खर्च घटेर जान्छ तथा प्रति इकाइ क्षेत्रफल आम्दानी बढछ । अतः वानस्पतिक विषादी घरघरमा बनाएर पनि बिक्री गरी जिविका चलाउंदा रोजगारीको सृजना समेत हुन्छ । यस पालिको अर्थ बजेटमा समेत जैविक खेती प्रवर्धन गर्न जोड दिइने भनी उल्लेख गरिएको छ ।
जैविक / वानस्पतिक विषादिकेा प्रवर्धन
रसायनिक विषादिको विकल्पमा रोग किरा नियन्त्रण गर्न जैविक /वानस्पतिक विषादिको प्रयोगको बढावा दिन सवभन्दा पहिले अध्ययन अनुसंधानको आवश्यक्ता छ कि कुन रोग किराको लागि कुन किसिमको वनस्पतिहरु, त्यसका मिश्रणहरु के के हुन ? कुन अवस्थाका वनस्पति, बनस्पतिका कुन भाग बढी प्रभावकारी हुन ? कति कति मात्रामा मिसाउने हो ? त्यो कसरी वनाउने हो , कहिले प्रयोग गर्ने हो जसले गर्दा बढी प्रभावकारी हुन्छ ? सो को प्रयोग कसरी गर्ने हो ? जस्ता कुराहरुको अध्ययन परीक्षण गर्न नितान्त आवश्यक्ता देखिन्छ । साथ साथै यी कुराहरुले बैज्ञानिक प्रमाण पाई कृषक समक्ष पु–याएर विश्वास हाशिल गर्नु पर्छ । विभिन्न प्रयोगात्मक प्रदर्शनीहरु गराएर प्रचार प्रसार गर्नु पर्छ । ती वनस्पतिहरुको स्थानीय स्तरमा संरक्षण तथा प्रवर्द्धनका लागि पनि जोड दिनु जरुरी छ जसले गर्दा ती वनस्पतिहरु लोप न होउन् ।
अन्य वाह्य संघ संस्थाले गर्नु पर्ने कामहरु
ज्ैविक वानस्पतिक विषादि संबन्धी अध्ययन अनुसंधान तथा प्रचार प्रसार गर्ने आर्थिक सहयोगको आवश्यक्ता धेरै देखिन्छ । त्यसका लागि दातृसंघ संस्थासंग अनुरोध गर्नुपर्ने देखिन्छ । साथै वाहिरवाट कुनै किसिमको विशिष्ट जाँच तथा जैव रसायन संवन्धी परीक्षणमा सहयोगको आवश्यक्ता पर्न सक्छ ।
कृषकहरुले गर्नु पर्ने कामहरु
समुहमा आधारित किसानहरुले समय समयमा समस्या पहिचान देखि लिएर परीक्षण प्रयोगमा सक्रिय सहभागी लिनु पर्ने हुन्छ। स्थानीय श्रोत साधन तथा सामग्री जुटाउन, चाहिने वोट विरुवा उत्पादन, प्रयोगको पृष्ठपोषणमा, प्रभावकारी विषादकिो प्रचार प्रसार, बनस्पतिहरुको संरक्षण संबर्द्धनमा समेत सहयोग गर्नुपर्ने हुन्छ ।
खाद्य सुरक्षा, मानव तथा पशु स्वास्थ्य, वातावरण तथा भावी संततिको ख्याल राखी रसायनिक विषादकिो प्रयोगमा अति संवेदनसील भई हामी प्रांगारिक खेती प्रविधि तथा वानस्पतिक विषादीको अधिकतम प्रयोग गरी सुखी जीवन जिऔं र जिउन दिउं भनी मेरो हार्दिक अनुरोध छ ।