dayaram.iof's picture
Posted by dayaram.iof

आज विश्व सिमसार दिवस । हरेक वर्ष फेब्रुअरी २ तारिखलाई विश्व सिमसार दिवसको रुपमा मनाउने गरिन्छ । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार शहरमा विश्वका १ सय ५६ देशका प्रतिनिधिहरु भेला भई सिमसारको दिगो संरक्षण तथा यसको महत्वको बारे ब्यापकरुपमा गहन छलफल गरी ‘रामसार महासन्धि’ पारित भएकोले फेब्रुअरी २ तारिखलाई विश्व सिमसार दिवसको रुपमा मनाउन सुरु गरिएको हो । हरेक बर्षझै यस बर्ष पनि सिमसार क्षेत्रको संरक्षणमा जनचेतना जगाउने उद्देश्यका साथ “भविश्यकालागि सिमसार” भन्ने मूल नारका साथ यो दिवस मनाउन गइएको छ ।

विश्वको नौ प्रतिशत मात्र भू–भाग सिमसार क्षेत्रले ओगटेको छ भने नेपालको सन्दर्भमा कुल क्षेत्रफलको पाँच प्रतिशत भन्दा बढी क्षेत्र सिमसारमा पर्दछ । सामान्यतयाः सिमसार भन्नाले दलदल जमिन वा पानी सहितको प्राकृतिक, कृत्रिम, स्थायी वा अस्थायी भू–भागलाई बुझिन्छ । ठूला ठूला पोखरी, जलासय तथा समुन्द« मात्र नभई जहाँ चौबीसै घण्टा पानी उम्रिरहन्छ, जहाँको माटो चिसो छ त्यस क्षेत्रलाई पनि सिमसार भन्न सकिन्छ । सिमसारले जमिनको पानीलाई सञ्चय गर्ने, पानी शुद्ध गर्ने तथा पानीका स्रोतहरु बचाई राख्ने भएकोले जनताको जीवनयापनसंग प्रत्यक्ष रुपमा सम्बन्ध राख्दछ । जैविक विविधता तथा पर्यावरणीय र ऋतु चक्रलाई सन्तुलन, विभिन्न थरिका जलचर तथा थलचरको बसोबास तथा आगन्तुक पक्षीहरूको ‘ट्रान्जिट प्वाइन्ट’ (Transit Point) को रुपमा पनि सिमसारलाई लिइने गरिन्छ ।

नेपालले पनि सन् १९८८ अप्रिल १७ तारिखका दिन रामसार सन्धिमा हस्ताक्षर गरि पक्ष राष्ट्र बनेपछि कोशीटप्पु बन्यजन्तु आरक्ष पहिलोपल्ट विश्व सिमसार सुचिमा सुचिकृत भएको थियो । हालसम्म आइपुग्दा बिसहजारी ताल तथा घोडाघोडी ताल गरि जम्मा ९ ओटा क्षेत्रलाई विश्व सिमसार सुचिमा सुचिकृत भइसकेको छ भने फेवा ताल लगायत अन्य क्षेत्रहरुलाई सुचिकृतको लागि प्रयास सुरु भएको छ । नेपालमा हिमालदेखि तराईसम्म पाँच हजारभन्दा बढी ताल तथा पोखरीहरू रहेको अनुमान छ र यी ताल तथा पोखरीहरू सिमसार क्षेत्रकै रुपमा संरक्षित हुनुपर्ने विज्ञहरूले बताइरहेका छन् । नेपालमा पाइने करिब सत्तरी हजार फूल फुल्ने वनस्पतिमध्ये २५ प्रतिशत ३७ प्रजातिका कीट पतङ्ग, ८० प्रजातिका घुस्रने जन्तुहरुको बासस्थान सिमसार क्षेत्र अन्र्तगतनै पर्दछ । कोशी टप्पु र घोडाघोडीमा साइबेरिया लगायतका क्षेत्रदेखि चराहरू आइपुग्छन् भने तथा नेपालका झन्डै १९३ प्रजातिका रैथाने चराचुरुङ्गीहरुको बासस्थान पनि सिमसार क्षेत्रनै रहेको छ । दुर्लभ चराचुरुङ्गी तथा घस्रने प्राणीको प्रमुख बासस्थान रहेको सिमसार क्षेत्र आफैंमा आय आर्जनको स्रोत पनि हो । नेपालभित्रिने कुल पर्यटकहरुमध्ये करिब ५० प्रतिशत पर्यटक सिमसार क्षेत्र तथा संरक्षित क्षेत्रमा भ्रमण गरेको तथ्याङ्क छ । नेपालका धेरे जातजातीहरु आफ्नो जिविकोपार्जनको लागि सिमसारमै आश्रीत भएको पाईन्छ, तथ्याङ्कअनुसार नेपालका २१ वटा आदीबासी जनजाती समुदाय जिविकोपार्जनका लागि सिमसारमै आश्रीत छन् । नदिनाला तथा तालहरुमा गरिने जलयात्रा तथा धान खेती लागायत माछापालन, सागपात फलफूल, बेत, पटेर जस्ता सिमसार क्षेत्रमा पाईने उत्पादनहरु निरपेक्ष गरिबिको रेखामुनी परेका स्थानिय आदिवासी जनजातहिरुका लागि परम्परागत जिवननिर्वाहको आधार रहि आएका छन् । कृषिलाई आधुनिकिकरण तथा आवश्यक सिंचाईको व्यबस्था द्धारा मानिसहरुको जिवनस्तर उकास्नको लागि पनि सिमसारको भूमिका पनि अह्म हुन्छ । जहाँ सिमसार छ त्यहा कृषिबाली प्रशस्त हुन्छ । जहाँ कृषिबाली प्रशस्त हुन्छ त्यहा अभाव र भोकमरी हुदैन र मुलुक सम्पन्न हुदँै जान्छ । नेपालजस्तो कृषि प्रधान राष्ट्र जहाँ अटुटुरुपमा बाह्रै महिना नदिनालाहरु बग्छन जसबाट सिमसारको समुन्नत ब्यबस्थापन गरि आवश्यक सिंचाईको पर्याप्त ब्यबस्थापन गर्न सकियमा नेपाललाई एक समुन्नत एव्म बिकासको बाटो तर्फ उन्मुख हुने देखिन्छ । यस अर्थमा सिमसार क्षेत्र कृषिमा आश्रित नेपाली समाजको एउटा बलियो खाध्य सुरक्षाको आधार पनि हो । यसै गरि विश्वका दुर्लभ एव्म लोपोन्मुख अवस्थामा पुगेका जंगलीजन्तुहरु तथा चराचुरुङ्गीहरु जसको प्रमुख वासस्थाननै सिमसार क्षेत्र रहेको छ, यसको उचित ब्यवस्थापन तथा संरक्षण गर्न सकेमा पर्यटनको बिकासद्धारा राष्ट्रको आर्थिक स्थिती उकास्न तथा जनताको जिविनस्तरमा राहत पुग्नेछ ।

बढ्दो जनसंख्याका अतिरिक्त वन फडानी, अतिचरिचरन, डढेलो, अतिक्रमण अव्यवस्थित शहरीकरण, प्राकृतिक प्रकोप, प्रदुषण जस्ता कारणहरुबाट सिमसार क्षेत्रहरु चपेटामा परेका छन् । आज सानातिनो सिमक्षेत्र मासिने क्रममा छन् भने पछिल्ला वर्षहरुमा बढ्दो विकास निर्माणसँगै जलाशयहरुमा ढल मिसाउने क्रम बढेर जाँदा विश्वका आधाजति सिमसार क्षेत्र नष्ट भइसकेका छ । विश्वव्यापी औद्योगिकीकरणले निम्तिएको वातावरणीय प्रदूषण र तापक्रममा भएको वृद्धिले प्राकृतिक सन्तुलन नै विग्रन थालेको छ । त्यसैले आगामी दिनमा पानीका लागि ठूलो संघर्ष हुने भविष्यवाणी धेरै पहिले नै भैसकेको छ । खासगरी हिमाली क्षेत्रमा बढेको तापक्रम यसको जलवायु परिवर्तनमा खेलेको भूमिकाले ठूलो समस्या पैदा गरेको छ जसले गर्दा कतिपय परम्परागत खेती समाप्त भएका छन् भने बीउ विजन नष्ट भएका छन् । कृषिबालीमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक मल तथा किटनाशक औषधी पनि सिमसार संरक्षणको चुनौतीको रुपमा प्रस्तुत भएको छ । आज सानातिनो सिमक्षेत्र मासिने क्रममा छन् । भनिन्छ, “पानी शुद्ध भए प्राण हो, त्यही पानी प्रदूषित भयो भने विष बन्छ । देशभरमा रहेको तालतलैया र नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगिन्ती समस्याको समाधान हुनेछ । देशभरमा रहेको तालतलैया र नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगिन्ती समस्याको समाधान हुनेछ । त्यसैले विश्व जलवायु परिवर्तनको मारले ग्रस्त हुँदै गैरहेको सन्दर्भमा सिमसार क्षेत्रको संरक्षण झन जवर्जस्त बन्न पुगेको छ ।

संक्रमणकालीन अवस्थामा राज्यले पनि सिमसार क्षेत्रको संरक्षण र विकासमा उचित ध्यान पु¥याउन सकिरहेको छैन । यिनीहरुको दिगो संरक्षण गर्नु सबैको दायित्व हुन जान्छ । प्राणीको निम्ति सिमसार क्षेत्र प्राण हो त्यसैले सिमसार क्षेत्रको दिगो संरक्षण र स्वच्छताका लागि सबै लागिपर्नु पर्दछ । विश्वब्यापीरुपमानै जलवायु परिवर्तनकाका सवालहरु उठिरहेका बेला जलवायु परिवर्तनकाका कारण भइरहेको नकारात्मक असरलाई घटाउन पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्दछ । जैविक विविधता र वातावरण संरक्षण लगायत जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सिमसार क्षेत्रको संरक्षणका सवालमा राज्य तहबाट कुनै नीति नै बनेको छैन । सिमसारलाई संरक्षण गर्न सकियो भने मात्र जैविक विविधता जोगाउन सकिन्छ भन्ने बारेमा जानकारी गराउन सक्नुपर्दछ । जबसम्म स्थानीय समुदायलाई सिमसारको महत्व बुझाउन सकिदैन तबसम्म यसको संरक्षण र विकास पनि सम्भव छैन । सिमसार वरपर रहेका स्थानीय वासिन्दालाई पानीको स्रोत संरक्षणमा जलाशयको महत्व बुझाउन सक्नुपर्दछ र राज्यबाट दिगो ब्यबस्थापन गर्ने तरिकाले सिमसार संरक्षण सम्बन्धि नितिको ब्यवस्थापन गर्न सकेमा विभिन्न चपेटामा परेका नेपालका सिमसार क्षेत्रहरुको संरक्षण हुने छ । जसबाट जनताको जिवनस्तर माथी उठ्ने छ भने राष्ट्रको आर्थिक विकास हुने छ जसबाट एक समुन्नत एव्म सम्पन्न नेपालको परिकल्पना गर्न सकिन्छ ।

(लेखक वन विज्ञान अध्ययन संस्थान पोखरामा स्नातक तह चौथौ बर्षमा अध्ययनरत छन् ।
Email: [email protected])
Contact: +977-9851185634

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social