Raju Gurung's picture
Posted by Raju Gurung

वन विकास गुरुयोजना २०४६ ले गरेको जलाधारीय अवस्थाको विश्लेषणको आधारमा स्याङ्जा जिल्ला नेपालको अति खराव जलाधारीय अवस्था भएका प्रमुख ७ जिल्ला मध्ये एक मानिएको छ । यसको अधिकांश भुभाग अति भिरालो, अस्थिर, कमजोर भौगर्भिक अवस्था तथा अति वृष्टि जस्ता अन्तरनिहित प्राकृतिक विषेशता र जमिन तथा पानीको अनुपयुक्त उपयोगमा वृद्वि, अव्यवस्थित ग्रामिण सडक निर्माण जस्ता मानविय कृयाकलापले गर्दा भू क्षयको दर तिव्र हुन गई जमिन क्षतिग्रस्त हुने समस्याले विकराल रुप लिईरहेको छ । फलस्वरुप सम्पुर्ण राष्ट्र कृषि भुमिको बिनास र बातावरणिय प्रतिकुलता तर्फ उन्मुख भईरहेको छ । सामान्य रुपमा जमिन क्षतिग्रस्त हुदा सम्म खासै ध्यान नजाने र समस्याले गाँजेपछि मात्र गुहार माग्ने हाम्रो मानसिकतालाई परिवर्तन नगरेसम्म राज्यवाट प्राप्त हुने सिमित साधन/श्रोतबाट यी समस्याहरुलाई न्युनिकरण गर्न असंभवप्राय हुन्छ । जाँहा समस्या छ, समाधान पनि त्यहि हुन्छ र उपयुक्त समयमा समाधान खोज्ने हो भने स्थानिय श्रोत साधन प्रयोग गरेर कम खर्च र मिहेनतमा दिगो रुपमा समस्यालाई निराकरण गर्न सकिन्छ ।

त्यस्तै गरि भू–संरक्षणका कार्य महरा र आधुनिक प्रविधिले मात्र संभव हुन्छ भन्ने जनधारणा रहेको हुदा जस्तोसुकै स्थानमा पनि यीनै प्रविधिहरुलाई व्यवहारमा ल्याउदा जनचाहाना र आवश्यक्ता अनुसार हुने मागलाई अपेक्षित रुपमा परिपुर्ति गर्न नसकिएको अवस्थामा कृषि/वातावरण संरक्षणमा आधारित कम खर्चिलो भू–संरक्षण प्रविधि/कार्यक्रम अपरिहार्य हुन गएको छ । यिनै तथ्यहरुलाई मनन गर्दै वातावरणमैत्री भू–संरक्षण प्रविधिहरुको वारेमा जानकारी दिन खोजिएको छ ।

पालिसेड (Pallishade)

भिरालो जमिन अथवा सानो गल्छीको दायाँवायाँ (across the slope/gully) चित्रमा देखाए जस्तै लाइनमा मिलाएर कटिर (woody cutting) रोप्नुनै पालिसेड हो । यसले जमिनलाई मजवुत (reinforce) वनाई भलपानीको वेगलाई घटाउने, माथिवाट वगेर आउने माटोलाई अडकाउने र जमिनमा पानी सोसिने प्रक्रिया (infiltration) मा सहयोग पुग्ने भएको हुदा यो प्रविधि भु संरक्षणको निमित्त अति उपयोगि मानिन्छ । जमिनलाई कम क्षति पुरयाइ सजिलै संग वनाउन सकिने र यसको लागि डाँठवाट जरा पलाउने प्रजातीहरु जस्तै असुरो, वैंस, दवदवे, फलेदो, लहरे पिपल, काभ्रो, खिर्रो, सजिवन, सरुवा, सिमाली आदि प्रयोग गरिने भएको हुदा चाँडैने जैविक छेकवाँधको रुपमा विकसित हुन्छ । त्यसैले सानातिना गल्छि अथवा माटो वगिरहने भिरालो पाखामा यो प्रविधि प्रयोगमा ल्याउने हो भने धेरै थोरै खर्चमा भु संरक्षण पनि हुने र वातावरणिय हिसावले पनि सुहाउदो भएकोले भरसक यस्ता प्रविधिलाई जोड दिनु उपयुक्त हुन्छ । तर धेरै परिमाणमा जम्मा हुने माटो ढुरालाई थाम्न नसक्ने भएको हुदा सवै ठाउमा यो उपयुक्त नहुन सक्छ ।

व्रस लेयरिङ्ग (Brush Layering)

भिरालो जमिनमा (चित्रमा देखाएझैँ) भित्ता तिर १०–२०५ भिरालो पारी ५०–१०० से.मि. चौडाईको गह्रा वनाउने र कटिङ्गहरुका ३/४ भाग भित्र र १/४ भाग वाहिर रहने गरि एक आपसमा खप्टिने गरि वाक्लै तेर्सो पारी माटोले पुर्दा केहि समय पछि माटो भित्र रहेको भागवाट जरा र वाहिर निस्केको भागवाट विरुवा पलाउने भएको हुदा यसले जमिनलाई वलियो वनाउछ । यसले अवरोधको काम गर्ने भएको हुदा भु क्षय न्युन हुने र माथिवाट वगेर आउने माटो लाई अडयाईराख्ने भएकोले कालन्तरमा भिरालो जमिन आँफै गह्राको रुपमा विकसित हुन्छ ।

फसाईन (Fascine)

यसमा काँचो हाँगाको वन्डललाई कम गहिरो भएको खाडल (shallow trenches) मा तेश्रो पारेर माटोले पुरिन्छ, मुख्यत भिरालो जमिनमा हुने सिमसिमे पानीलाई सुरक्षित निकास दिनको निमित्त यो प्रविधि प्रयोग गरिने भएतापनि जमिन मुनी जरा र माथि विरुवा फैलिने भएको हुदा भिरालो जमिनलाई वलियो वनाई माथिवाट वगेर आउने माटोलाई समेत अडकाउने भएको हुदा भु संरक्षणको निमित्त ज्यादै उपयोगि हुन्छ ।

फसाइन वनाउदा भिरालो जमिनको फेदवाट शुरु गरि माथि जानु पर्दछ । लामो खाडलमा वण्डलहरुको फेद/टुप्पो खप्टयाएर सुताइन्छ र खाडललाई पुर्ने गरिन्छ । वण्डललाइ वाधेर पनि राख्न सकिन्छ । वण्डल राखेपछि तुरुन्त खाडल पुरी हल्का रुपले वरिपरि थमार्नु पर्दछ । यदि भिरालोपन २५° भन्दा वढि भएमा लठ्ठी गाडि अडकाउनु पर्दछ । खाडल १० सेमि. गहिरो र २० सेमि. चौडाईको हुनु पर्दछ । यदि फसाइनलाई साना साना चिरा तथा गल्छि भएको स्थानमा प्रयोग गर्ने हो भने दुरी यिनीहरुको संख्यामा भर पर्दछ । प्रत्येक वण्डलमा कम्तिमा पनि ४ वाटा डाँठ हुनु पर्दछ तर ८ वटा भन्दा वढि हुनु हुदैन ।

झार/काठपात छेकबाँध (Brushwood Checkdam)

मथिवाट वगेर आउने माटोलाई रोकथाम गर्न ग्यावियनमा ढुरा भर्नु पर्छ वा महरो संरचना वनाउनु पर्छ भन्ने छैन, स्थानिय स्तरमा पाईने काठपात/झारपात प्रयोग गरेर पनि छेकबाँध वनाउन सकिन्छ । यसका लागि चित्रमा देखाएभैँ ठाडो घोचा गाडि तेर्सो घोचाले मान्द्रो वुने जस्तै गरि वुन्न सकिन्छ । संभव भए सम्म ठाडो तथा तेर्सो दुवै घोचा पलाउने प्रजाती भए उत्तम हुन्छ ।

रिपरयाप (Riprap)

भिरालो जमिनको सानो भाग (२ मि. सम्म उचाई भएको) मा माटो वगिरहेको छ भने उक्त भागको माटोलाई कवच (Armour) प्रदान गर्नको निमित्त ढुरा विच्छयाई चित्रमा देखाएझैँ खालि ठाउमा विरुवा लगाउदा माटो वग्नवाट रोकथाम गर्न सकिन्छ । यो प्रविधि अपनाउदा आकासवाट पर्ने तथा भलको रुपमा वग्ने पानीको धेरै हिस्साले साझै माटोमा असर गर्न नसक्ने र ढुरको चरवाट पानी छिरी विरुवालाई सुरक्षित रुपमा सजिलै उपलब्ध हुन्छ ।

वाटलिर (Wattling)

मुख्यत डांठवाट हांगा पलाउने प्रजातिका रुखका हांगाहरु काटी भिरालोमा समोच्च रेखाहरुमा तयार गरिएको छेकबारहरुको समुहलाई वाटलिर भनिन्छ । यसले माथिबाट बगेर आएको माटोलाई रोक्ने, भिरालोलाई संरक्षण गर्ने र बलियो वनाउने तथा सुधार गर्ने काम गर्दछ । कम माटो बग्ने भिरालो तथा ढुराहरु नखस्ने स्थानमा यो प्रविधि उपयुब्त हुन्छ । उपयुक्त खालका रुखका हांगाहरु नपाएमा बांसवाट पनि वाटलिर तयार गर्न सकिन्छ र तेर्सो पारेर बुनिने हांगाहरु भने पलाउने प्रजाति प्रयोग गर्नु उपयुक्त हुन्छ तर ति हांगाहरुको फेद भने जमिनमा गाडेको हुनु पर्दछ ।

झाडीको लहर (Hedge row)

भिरालो जमिनमा समोच्च रेखामा झाडीदार विरुवाहरुलाई मिलाएर रोप्ने कार्यलाई झाडीको लहर भनिन्छ । यस्ता झाडीदार विरुवाहरु नाईट्रोजन स्थिरिकरण गर्न सक्ने कोसेदार प्रजाति भएमा माटोमा नाईट्रोजनको मात्रा वढाउन सकिने हुन्छ । यी लहराको विचको भागमा खाधान्न वा नगदे वाली हुर्काउन उपयोग गर्न सकिन्छ । यसले पानीको प्रवाहलाई कम गरि भिरालो जमिनलाई संरक्षण गर्छ र वलियो वनाउछ । माटो क्षय हुन नदिई प्रभावकारी अवरोध सिर्जना गर्ने भएको हुदा केहि वर्षपछि लहरको लाईनमा आँफै वान्नो/पर्खाल वन्ने हुदा धेरै मिहेनत र खर्च नगरी प्राकृतिक रुपमा सुरक्षित र वातावरण सुहाउदो गह्रा तयार हुने भएकोले गह्रा सुधारको लागि यो उपाए सर्वोत्तम मानिन्छ ।

घाँसे पानी बाटो (Grass Waterways)

अस्थाई रुपमा पानी वग्ने वाटो/कुलोमा भुई घाँस लगाउनाले जमिन खोतलिन (Scouring) नपाउने र सुरक्षित रुपमा भल पानीको निकास हुन पुग्दछ । यस्तो वाटो वनाउदा भिरालोपन २०५ भन्दा वढि हुनु हुदैन र कम्तिमा पनि प्रत्येक ३० मिटरमा पानीको वहावलाई अवरोध पुरयाउने संरचना वनाउन उपयुक्त हुन्छ । जसले पानीको वेगलाई घटाई भु क्षय कम गर्न सहयोग पुग्दछ ।

संरक्षण रोपण (Conservation Plantation)

चिस्यान र जमिनको संरक्षणमा आधारित रुख, वुटयान तथा घाँस रोपण नै संरक्षण वृक्षारोपण हो । जमिनको अवस्था र चिस्यानको मात्रा अनुसार विभिन्न तरिकाले रोपण गरिन्छ । भु क्षय कम गरि जमिन तथा जलको गुणस्तरमा सुधार, दैनिक रुपमा आवश्यक पर्ने दाउरा, डाले घाँस, काठ, पातपतिरर तथा सोत्तर आदिको आपुर्ति र जैविक विविधता कायम राख्नु यसको मुख्य उद्येश्य हो । जसले गर्दा वन जंगलमा पर्ने चापमा कमि आउनुको साथै वातावरणमा समेत सुधार हुन जान्छ ।

बाँस रोपण (Bamboo Planting)

परम्परागत रुपमा बाँस लगाउने तरिकालाई केहि सुधार गर्ने हो भने बाँसको एउटै घारावाट एकै चोटि धेरै विरुवा प्राप्त गर्न सकिन्छ । ६–१० महिनाको घारालाई चित्रमा देखाए झैँ २ आँख्ला रहने गरि टुक्रा पार्ने, ति आँख्लाको विच (Internode) मा प्वाल पारी भित्रको खाली ठाउमा हिलो माटोले भरि नर्सरीमा तेर्सो पारेर २.५–१५ से.मि.गहिराईमा पुर्ने र सिचाईको व्यवस्था गरेमा प्रत्येक आँख्लावाट विरुवा पलाउछ । बाँसवाट प्राप्त गर्न सकिने फाईदाको त कुरै नगरौ, बाँस एक फाईदा अनेक भने जस्तै घाँसपात, डोको/नाम्लो, निर्माण सामग्री तथा खाध (तामा) देखि लिएर माटोलाई समाउने, भिरलाई अडयाउने, भलपानीको वेगलाई घटाउने वारको काम पनि गर्ने भएको हुदा भु संरक्षणको निमित्त झनै उपयोगि मानिन्छ ।

घाँस रोपण (Grass Planting)

जमिनको सतहलाई ढाकि मजवुत वनाउन र भल पानीलाई चाहेको मार्गवाट निकास दिनको लागि घाँस रोपण गरिन्छ । भिरालो जमिनमा घाँस रोपण गर्दा माथिवाट शुरु गरि तल आउनु पर्दछ भने जमिनको भिरालो पन र माटोको अवस्था हेरि चित्रमा देखाएझैँ समोच्च, ठाडो र तर्पाएँ लाईनमा रोपण गरिन्छ । मसिनो जरा हुने विरुवा (fibrous rooting type) जस्तै वावियो, काँस, खर, फुर्के आदिका लागि एक प्वालमा २ स्लिप रोप्नु पर्दछ भने मोटो जरा हुने (rhizome) विरुवा जस्तै अम्रिसो, पदर बाँस आदिको लागि एउटा मात्र स्लिप रोप्नु पर्दछ । घोचो/सुइरोले १० से.मि.को दुरीमा जरा अटने ठिक्कको प्वाल पारि विरुवा रोप्ने र राम्रो संग पुरी हातले थमार्ने गर्नु पर्दछ । लाईनको दुरि भने जमिनको भिरालोपनमा भर पर्दछ ।

कृषिवन (Agro-Forestry)

खेर गएको जमिनको सदुपयोग, उत्पादनमा विविधता, लगातार आम्दानी, जमिन मुनी सम्मवाट खाद्य तत्वको उपयोग, वन जंगलमा पर्ने चापमा कमि र वातावरणमा समेत सुधार हुने जस्ता प्रत्यक्ष फाइदाको अतिरिक्त जमिनमा खोलको काम गर्ने, पानी सोस्ने प्रकृयामा सुधार ल्याई जमिनमा जल संचय भई रहने र तुषारो, गर्मि तथा सुक्खा हावा वाट वाली जोगिने आदि कृषि वन प्रणालीका फाइदा हन् । तर यसको लागि उपयुक्त प्रजातीको छनौटमा भने राम्रो विचार पुरयाउनु आवश्यक हुन्छ ।

बहुबाली (Multiple Cropping)

एउटै भुमिमा एकै वर्षमा बाली उत्पादनलाई गहन बनाउन दुई वा दुई भन्दा बढी बालीहरु मिश्रित रुपमा वा छुट्टा छुट्टै लगाउने विधिलाई बहुवाली भनिन्छ । यसले माटोको विभिन्न तहमा रहेका तत्वहरुको उपयुक्त सदुपयोग, गुणस्तरमा सुधार हुने र किरा फटयार्रा तथा रोगको प्रकोपलाई न्युन गर्न सहयोग पुरयाउने मात्र होईन सन्तुलित खाधान्नको पनि उपलब्द्य हुन्छ । यसले अर्को बालीको लागि सहयोगको कार्य पनि गर्दछ । उदाहरणको लागि कोसेबालीले अन्न बालीलाई नाइट्रोजन उपलब्ध गराउछ ।

बाली चक्र (Crop Rotation)

एउटै भुमिमा एकपछि अर्को गरी विभिन्न प्रकारका बाली लगाउने प्रणालीलाइ बाली चक्र भनिन्छ । यसले माटोमा रहेको खाधतत्व तथा उर्वराशक्तिलाई कायम राखि रोग किराको प्रकोपलाई घटाउनुको अतिरिक्त माटोको विभिन्न तहमा रहेका तत्वहरुको उचित उपयोगमा सहयोग पुरयाउछ । सन्तुलित आहारको उपलब्ध समेत हुने हुदा यो प्रणालीको आफनै बिषेशता छ ।

संरक्षण खनजोत (Conservation Tillage)

भिरालो जमिन अन्न उत्पादन गर्नको लागि उपुक्त भने हुदैन तैपनि यदि वाध्यतावस उत्पादन गर्नु परयो भनेपनि प्रशस्त खनजोत गर्नु पर्छ भन्ने छैन । विउ छर्ने ठाउमा मात्र खोस्रेर पनि वाली (मकै, रहर आदि) लगाउन सकिन्छ । जसले गर्दा मेहनत कम पर्ने, वाली उत्पादन पनि हुने र भु क्षय रोकथाम गर्न पनि सहयोग पुग्ने हुन्छ । त्यसैले यो प्रविधिलाई सर्प पनि मर्ने लठ्ठीपनि नभाचिने उपाएको रुपमा लिन सकिन्छ । यस्तो ठाउमा खनजोत गर्दा भु क्षय वढि हुने सभावना हुदा अन्न खेति गर्नु भन्दा खनजोतनै गर्न नपर्ने जस्तै फलफुल खेति गर्दा जमिने खाजेको जस्तै झनै राम्रो हुन्छ ।

ढकन बाली (Cover Crop)

गुणस्तर ह्ास भएको भुमिलाई सुधार गर्न जमिनको माथिल्लो भागलाई स्थायी घाँस वा कोसे विरुवाका प्रजातिबाट घना रुपमा ढाकिदिन बिरुवा हुर्काउने प्रविधिलाई ढकन वाली भनिन्छ । यसले भिरालो जमिनलाई संरक्षण गरि बगेर जाने माटोलाई रोक्नुको अतिरिक्त माटोको उर्वरापनमा सुधार ल्याउनको निमित्त प्रांगारिक पदार्थ थपिन गई माटोमा भौतिक, रासायनिक तथा जैविक क्रियाकलापमा वृद्दि हुन्छ । जनावरको लागि घाँस, माटोको ओसिलोपन वचाई राख्ने र झारपातलाई नियन्त्रण गरि गोडमेल खर्च कम हुने हुदा खेर गएको जमिनलाई सदुपयोग गर्न यो प्रविधि उपयुक्त मानिन्छ ।

छापो (Mulching)

माटोमा सुक्ष्म जिवाणुको गतिविधिमा सुधार ल्याई जैविक तत्वको वृद्वि र चिस्यान कायम राखि गोडमेलको खर्च घटाउन छापो राख्न आवश्यक हुन्छ । सुक्खा ठाउमा विउ उम्रिन सहज पुरयाउनको लागि पनि छापो हाल्ने गरिन्छ । यसको लागि अवस्था हेरि विरुवाका अवषेश (झारपात), पात पतिरर तथा पलाष्टिक आदि प्रयोग गर्न सकिन्छ तर पनि भरसक छापो राखिएका वस्तुहरु चाडैने कुहिएर माटोलाई मलिलो वनाउने भएमा राम्रो हुन्छ ।

नाईट्रोजन स्थिरिकरण विरुवाको प्रयोग (Use of Nitrogn Fixing Plants)

विरुवाको बृद्दि र यसवाट प्राप्त हुने उपयुक्त उत्पादनको निमित्त नाईट्रोजन नभइ नहुने तत्व हो । वातावरणमा नाईट्रोजन प्रशस्त मात्रामा पाइन्छ तर त्यो ग्यासको रुपमा हुने हुदा विरुवाले सोझै प्राप्त गर्न सक्दैन । तसर्थ नाईट्रोजन ग्यासलाई विरुवाले उपयोग गर्न सक्ने रुपमा ल्याउन अति आवश्यक हुन्छ । केहि विरुवाहरु यस्ता छन् जसले वातावरणमा ग्यासको रुपमा रहेको नाइट्रोजनलाई ब्याक्टेरियाको सहयोगमा आफनो जराको आख्लामा जम्मा गरि राख्न सक्छन र माटोमा विरुवाले उपयोग गर्न सकिने रुपमा नाईट्रोजनको मात्रा बढाउन सक्षम हुन्छन । यस्ता विरुवाहरुलाई नाईट्रोजन स्थिरिकरण गर्ने विरुवा भनिन्छ । मुख्यतः कोसेवाली हुने विरुवाहरु यो कार्यमा सक्षम हुन्छन ।

यी कोसेदार विरुवाहरुले आफु बाचुल्जेल जम्मा गरेको नाइट्रोजनको केहि भाग मात्र माटोमा छोडछन तर ति विरुवाहरु मरेपछि विघटन मार्फत माटोमा प्रशस्त नाईट्रोज थपिन गई अरु विरुवाले प्राप्त गर्न सक्छन तर ती कोसेदार वाली थन्क्याउदा तिनका जरा भने जमिनमै छोडन उपयुक्त हुने हुदा त्यस्ता वाली जरा सहित उखेल्नु भन्दा काटदा राम्रो हुन्छ ।

प्रांगारिक/गोठेमल (Compost/FYM)

माटोमा प्रयाप्त जैविक तत्वको आपुर्ति गरि माटोको संरचना, चिस्यान तथा सुक्ष्म जिवाणुको गतिविधिमा सुधार ल्याई उत्पादकत्व वृद्वि गर्नको लागि जैविक मल अति आवश्यक मानिन्छ । रासायनिक मलमा भरपर्नु पर्ने वाध्यताको साथै यसवाट माटोमा पर्ने नकरात्मक असरलाई न्युन गरि खेर जाने श्रोतको सदुपयोग हुने र खनजोत कार्य सहज वनाई पौष्टिक तत्वमा आधारित जैविक खेति (organic farming) मा अभिवृद्वि गर्नको निमित्त जैविक मल सहायक सिद्व भएको छ ।

जैबिक बिषादीको प्रयोग (Use of Organic Pesticide)

गाईवस्तुको मुत्रमा विभिन्न वनस्पतिहरु कुहुवाएर जैविक विषादि वनाउन सकिन्छ र यो प्रविधि किसानहरुको मौलिक ज्ञान र अनुभवमा आधारित भई रासायनिक विषादिको विकल्पको रुपमा विकसित हुन थालेको छ । यसमा मुख्यत वनमारा, असुरो, तितेपाती, वकाईनो, टिम्मुर, पतिना, केतुकि, सिस्नु, तुलसी, निम, खिर्रो आदिलाई मुत्रमा भिजाई कुहुवाइन्छ र जैविक विषादि तयार गरिन्छ । यसरी तयार भएको विषादिलाई पानीमा मिसाई विरुवाको उपचार गरिन्छ । विषादि र पानीको अुनुपात भने उपचार गर्नु पर्ने विरुवाको उमेर हेरी १:४ देखि १:८ सम्म उपयुक्त हुने पाइएको छ । यसले सवै किरालाई नास गर्न नसकेतापनि ठुला किराको निमित्त भने प्रभावकारी भएको पाइएको छ । यसको अतिरिक्त मुत्र नाइट्रोजन तथा फसफोरसको पनि श्रोत भएको हुदा यसको प्रयोग उपयोगि हुन्छ ।

निष्कर्ष

भिरालो जमिनमा छताछुल्ल रुपमा बग्ने भलपानी (Surface Runoff) ले भु क्षय तथा पहिरो निम्त्याउदै जमिनको उर्बरायुक्त माटो आँफुमा समाहित गर्दै आफनो परिमाण (Volume) बढाउछ र अन्तत्वगत्वा मुख्य बोटोमा पर्ने खोला नालामा बाढीको सृजना गरि धनजनको क्षति पुरयाउछ । सिमित साधन/श्रोतबाट यी समस्याहरुलाई न्युनिकरण गर्न स्थानिय श्रोत साधन/उल्लेखित प्रविधिहरु प्रयोग गरेर कम खर्च र मिहेनतमा दिगो रुपमा समस्यालाई न्यूनिकरण गर्न सकिन्छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन संवन्धि अन्य कार्यक्रम संचालन गर्दा यथासंभव सेवा (Service), वातावरण (Environment), आर्थिक (Economic) र प्रजातान्त्रिक (Democratic) पक्ष सबैलाई समेटने गरी सहभागीतामुलक एकीकृत कार्यक्रमहरु संचालन गर्ने नीति अवलम्वन गर्न सके सुनमा सुगन्ध हुनेदेखिन्छ ।

Tags: 

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social