Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

सूर्यमुखी पहिले पहिले सौन्दर्यताको लागि फूलको रुपमा घर अगाडि अथवा घर सजाउन प्रयोग गरिन्थ्यो। तर अहिले आएर तेलहनको रुपमा असाध्यै प्रयोग गर्न थालिएको छ। यो बाली सोभियत संघ, आरजेन्टिना, बल्गेरिया, रुमालिया, टर्की, दक्षिण अमेरिका तथा भारतमा खेती गरिन्छ। तर यो बाली नेपालको केही भागमा पनि धेरै थोरै क्षेत्रफलमा खेती गरिन्छ। अरु तेलहन वाली जस्तै तोरी, सरस्ंर्यु, वदाम, भटमास, तिल झुसेतिलहरु भन्दा सूर्यमुखी स्वास्थ्यवर्धक मानिन्छ। यो तेललाई मुटुको रोग निम्त्याउने कोलेस्टेरोल अथवा पोली अन्सैचुरेटेड फैटी एसिडको मात्रा एकदमै कम हुने भएकोले रक्तचाप संवन्धी रोगीको लागि उपयुक्त तेल सिद्ध भैसकेको छ। यसको छाता निस्के पछि छाताको पछाडी भागमा औक्सिन भने बृद्धि बर्द्धक रसायन जुन सूर्यको प्रकाशमा छायांमा बस्न खाज्ने गुण भएकोले दिनमा सूर्यमुखी सूर्यतिर फर्केको हुन्छ, त्यसैले यसलाई सुर्यमुखी भनिन्छ।

यसको तेलमा अरु वालीको तुलनामा प्रोटिन, भिटामिन र खनिज तत्वहरु वढी नै पाईन्छ। यसको दानामा ३८-४३%सम्म तेल पर्दछ भने तोरीमा मात्रै ३२% तेल पर्दछ। यसको पिनामा द्धद्दछसम्म प्रोटिन पाईन्छ। जुन गाई भैसी, वंगुर, कुखुराको दानामा प्रयोग गरिन्छ।

यो वालीलाई प्रकाश अवधि, तापक्रमसंगको त्यती असर नगर्ने प्रति ईकाई वढी उत्पादन दिने (६०-७० के.जी./कठ्ठा) छोटो समयमा उत्पादन हुने (८५-११५ दिन) वर्षमा तीन पटक सम्म खेती गर्न सकिने, नगदे वाली भएकोले वढी आम्दानी लिन सकिने, थोरै सिंचाईले पुग्ने, रोग किराको प्रकोप कम हुने, सवै किसिमको माटोमा हुने, दुई बालीको विचमा लिन सकिने, गाईबस्तुले नरुचाउने, डाँठ, खोस्टा र छाता दाउराको रुपमा प्रयोग हुने भएकोले तराई लगायत मध्य पहाडका जिल्लाहरुको लागि एकदमै उपयोगी बाली सिद्ध हुन सक्दछ।

तराईका केही जिल्लाहरुमा विभिन्न कारणहरु मध्ये छाडा पशुपालनको डरले वर्ष भरिमा कम्तीमा ३ पटक बाली लिनुको सट्टा एउटा बाली धान मात्र उत्पादन गरिने प्रथाको लागी एकदमै उपयुक्त बाली छ जुन धान काटेपछि मंशिरमा लगाएर चैत्रमा लिन सकिन्छ। यो बालीको पातमा झुस भएकोले गाईवस्तुले त्यति मन पराउदैन। यो बाली ग्रामिण भेकका गाउंहरुमा दाउराको अभाव भएकोले गाइवस्तुको गोवरलाई गोइठा, (कण्डा) बनाएर बाल्ने प्रथाले ठुलो मात्रामा विरुवालाई चाहिने पोषक तत्व जस्तै : नाइट्रोजन, फासफोरस, पोटास, सल्फर आदि बाल्न बाध्य भएको छ साथै वन जंगल कटान तथा बिनासबाट बचाउन पनि सहयोग गरेको छ। यदि यो बाली लगाउन पाए दाउराको समस्या हल हुनुका साथै गाईवस्तुको गोबर खेतबारीमा प्रयोग भई विदेशबाट भित्रिने मल वापत तिरिने मुद्रा बचाउन सकिन्छ। यो बालीले महको उत्पादनमा बृद्धि गरी माहुरी व्यवसाय समेतलाई सकरात्मक प्रभाव पार्दछ। यस्को जरा माटोको भित्रसम्म जाने भएकोले गहिरोसम्म रहेको खाद्यतत्वलाई प्रयोग गर्न सक्षम हुन्छ। माथिका सम्पूर्ण गुणहरुले जलवायु परिवर्तनको असर कम गर्न उल्लेखनीय भूमिका खेल्दछ।

अतः यसलाई नेपालको तराई तथा मध्य पहाडमा मूख्य बालीसंगको बली चक्रमा सुहाउंदो हुने गरी खेती गरी प्रति इकाइ क्षेत्रफलमा बढी भन्दा बढी आम्दानी लिनुकासाथै वातावरणलाई समेत जोगाउन सकिन्छ।

उन्नत प्रविधि

सूर्यमूखी खेती मकै खेती गर्ने प्रविधि जस्तै कुराहरु पर्दछ।

१. माटोको किसिम र हावापानी

पानी नजम्ने, राम्रो निकासको व्यवस्था भएको दोमट माटो, पी.एच.६.५-८ सम्ममा राम्रो उत्पादन लिन सकिन्छ। यो शितोष्म देखि समशितोष्म हावापानी भएको स्थानमा खेती गर्न सकिन्छ। बानस्पतिक विकासको लागि गर्मी र आर्द्रता भएको तर फूल फूल्न तथा पाक्ने बेला घामलाग्ने दिन भएको मौशमको हावापानी चाहिन्छ। यो समुद्रसतह देखि १००० मीटर सम्म राम्रोसंग खेती गर्न सकिन्छ।

२. जग्गाको तैयारी

२-३ पटक गहिरो जोताई पछि राम्रो संग माटो मिलाएको, डल्ला फुटेको हुनु पर्ने, झारपात नभएको राम्रो चिस्यान हुने गरी जग्गा तैयारी गर्नु पर्छ।

३.विउ लगाउने समय

यो बाली जुन कुनै समयमा लगाउन सकिन्छ तर फूल फूल्ने बेला धेरै चिसो र वर्षा हुने बेला बाहेक लगाउनु पर्छ किन भने माहुरी को आवागमन कम हुनुका साथै परागहरु वर्षा र शितले बगाउने गर्दछ, फलस्वरुप उत्पादन घट्छ। उपयुक्त समय
(क) श्रावण दाश्रो हप्ता देखि भदौं तेश्रो हप्ता सम्म
(ख) कार्तिक तेस्रो हप्ता देखि मंशीर दाश्रो हप्ता सम्म
(ग) माघ तश्रो हप्ता देखि फाल्गुन दाश्रो हप्ता सम्म।

४. विउ दर र उपचार

विउलाई वविस्टीन, एरेटान, सेरेटान एगालोल मध्ये कुनैबाट ३ गाम प्रति किलो विउको दरले उपचार गर्नुपर्छ। हाइवि्रड विउ भए २००-३०० ग्राम प्रति कठ्ठा, उन्नत विउ भए तथा दाना ठूलो भए २५० ग्राम प्रति कठ्ठा विउ लाग्दछ।

५. जातहरु

उन्नत जात : मोरडन, सी.आ.१, सी.आ.२, सी.आ.३, पेरेडोबीक, अमरामर्ट।
हाइवि्रड : ज्वालामुखी, एम.एस.एफ., एच ८, एस.एच. ३३२२, पि.ए.सी.८६९९, पि.ए.सी.३६, एन.एस.एफ.एच. ५५५, अरु धेरै कम्पनी जस्तै प्वाइनीयर, नामधारी, नाथ कम्पनीहरुले अनेक जातहरु विक्रीमा ल्याएको छ।

६. लगाउने तरीका

राम्रो अंकुरण र राम्रो विरुवा बृद्धिको लागि प्रशस्त चिस्यान भएको माटोमा ५ से.मी. वा २ इन्च गहिरोमा लाइन देखि लाइन २ फीट र वोट देखि वोट १ फीट वा १.५ फीट (अग्लो जात भए) दुरीमा खुर्पीले अथवा हलोको सियोको पछाडी विउ दुई-दुई वटा राख्नु पदर्छ। पछि उम्रे पछि कमजोर विरुवा उखेल्नु पर्छ।

७. मलखाद

राम्रो कुहेको गोबर मल जमीनको तैयारी गर्दा प्रति कठ्ठा ३०-३५डोको वा टोकरी हालेर राम्ररी मिसाउनु पर्छ। प्रति कठ्ठा ४-५ कि.ग्रा.डी.ए.पी., २-२.५ कि.ग्रा. दुरीमा, २-२.५ कि.ग्रा. म्यूरेट पोटास र ३०० ग्रा. काल्डान (किराको लागी) हाल्नुपर्छ।

३५ दिनमा पहिलो सिचाई र गोडाई पछि २.५ कि.ग्रा. को दरले युरीया पुनः हाल्नुपर्छ। यूरिया मलको सटा गाइवस्तुको पिसाव १भागमा ४ वा ५भाग पानी मिसाई ३ पटक स्प्रे गरेमा राम्रो उत्पादन दिन्छ।

८. गोडमेल तथा उकेरा

४-६ हप्तामा झारपातलाई निकालेर उकेरा लगाउनु पर्छ जसले गर्दा सिचाई गर्न र हावाले बोट ढाल्नबाट बचाउछ।

९. सिंचाई

गर्मी मौशममा लगाउने सूर्यमूखीमा ३ पटक ३०-३५ दिन, ५०-५५ दिन र ७५-८० दिनमा सिंचाई गर्नुपर्छ। सिंचाई कम भएमा १०-३०% सम्म उत्पादन घटन सक्छ। उम्रने बेला, छाता निस्किने, फूल फूल्ने तथा दाना लाग्ने बेला सिंचाईको लागि संबेदनसिल अवस्था हो।

१०. सूगा चराबाट बचावट

पहिलो पटक तथा एकल वाली भएको अवस्थामा फूल फूल्ने बेला अथवा अन्तीम १० दिन सूगा र अन्य चराहरुबाट बचाउनु पर्ने हुन्छ। यसको लागि स्थानीय रुपमा कैसेटको रील चारैतिर झुन्ड्याउने, ठूलो आवाज आउने टीन वा ड्रम फटाका बजाउनु पर्र्दछ।

११. रोग किरा व्यवस्थापन

यसमा चुसाहा किरा प्लान्ट वग (पतेरो) र पात तथा दाना खाने झुसिले किराको प्रकोप बढी नै देखिन्छ। विरुवा सानो छंदा थायोडान २ एम.एल.वा क्लोरोपाइरीफोस २ एम.एल. प्रति लीटरको दरले बोट राम्रो संग भिज्नेगरी छर्नु पर्छ। चुसाहा किराको लागी डेसिस १.५ मि.ली.वा रोगर १.५ मि.ली. प्रति लीटरको दरले स्प्रे गर्नु पर्छ। बोट ओइलिने रोगको लागी राम्रोसंग विउ उपचार गरेर विउ लगाएमा रोग लाग्नबाट बचाउछ। विभिन्न किराहरुको लागि नीमको पात गाईवस्तुको पिसाबमा मिसाई छरेमा वा बजारमा पाएने नीममा आधारित विषादी ३ मि.लि. प्रति लिटर पानीको दरले छरेमा रसायनिक विषादी छर्नु पर्दैन र वातावरणमा नकरात्मक असर पर्दैन।

१२. वाली काट्ने

जात अनुसार ८५ देखी ११५ दिनमा तैयार हुन्छ। छाताको पछाडिको भाग पहेलो तथा फूलको वरिपरी पहेलो भाग झर्न थाल्छ र दाना कालो भएको देखिन्छ। छातालाई काटेर १, २ दिन घाममा सुकाएर लठीले चुटेर दाना निकाल्नु पर्छ। साथै सफागरेर राम्ररी सुकाएर वोरामा हाल्नुपर्छ। डांठ र वांकी छातालाई दाउरा र कम्पोष्ट मल को रुपमा प्रयोग गर्ने गरिन्छ।

१३. उत्पादन

जात मौसम र स्याहार सुसार अनुसार प्रतिकठ्ठा ६० देखी १०० के.जी. सम्म उत्पादन लिन सकिन्छ।

१४. बजार व्यवस्थापन

विउलाई आफै पनि तोरी जस्तै मिलमा पेलाउन सकिन्छ। तर तेल कम आउने संभावना हुन्छ। यसको लागि विशेष किसिमले सुर्यमुखी तेल निकाल्ने मिलमा पेलिन्छ नभए राम्रोसंग पैकिङ गरेर नजिकको वजारमा विक्री गर्न सकिन्छ। सुर्खेतका कृषकहरुले सूर्यमूखीको दानालाई पानीमा भिंजाइ सुकायर काठको जांतोमा पिसि बोक्रा हटाएर मिलमा पेलाएर खाने गर्दछ।

व्यवसायिक हिसाबले खेती गरी आम्दानी गर्न लागि कुनै उद्योगपतिले दानाबाट बढी तेल निथार्ने मशीन ल्याएर यसको तेलको विधिवत व्यवसाय गरेमा उद्योगी तथा कृषकहरु समेतलाई बढी फाइदा भई देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने हुन्छ। साथै वन जंगल जोगिने, माटोमा पशुवस्तुको मल बढी प्रयोग भई उर्वरा शक्ति कायम हुने र मानिसहरुको मुटु सम्वन्धी समस्या समेत घट्ने हुन्छ। यसको प्रवर्धनको लागि सरकारको ध्यान नितिगत व्यवस्था, अनुसंधान तथा अनुदानमा जोड दिनु नितान्त आवश्यक देखिन्छ।

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social