Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

परिचयः कुविन्डो फर्सी समूहका एक बाली हो, जुन पोषणयूक्त, वर्षे, झुस भएको लहरे विरुवा हो । यो खरानी रंगको, फर्सी जस्तै ठूलो फल तरकारी हो । यसलाई सेतो फर्सी वा मैन फर्सी, पेठा पनि भनिन्छ । यसमा बढी मात्रामा पानी र थोरै मात्रामा प्रोटीन, बोसो, रेसा तथा कार्बोहाइडे्र्रट पाइन्छ । यसमा खनिज पदार्थमा क्याल्सीयम, फलाम, फोसफोरस र भिटामीनहरुमा थायमीन, राइबोफलेवीन, नायसीन तथा भिटामीन सी ४ देखि ५ क्वीन्टल प्रति कठ्ठा ।

कुबिन्डोको मानव स्वास्थ्यमा प्रयोग हुने औषधीय गुणहरु

क) कुबिन्डोमा औषधो गुण प्रशस्त हुन्छ । यसको रस अल्सर उपचारमा प्रयोग गरिन्छ । यसको रस निकालेर बराबर मात्रामा पानी मिसाएर दिन्हुँ खाली पेटमा बिहान सेवन गर्दा अल्सर निको पार्दछ । सेवन पछि २, ३ घंटासम्म कुनै खाना लिनु हुदैन । यो रसले पाचन नलीको सुजन कम गर्न मद्दत गर्दछ ।

ख) यसको गुदीलाई ससाना टुक्रा बनाई पानीमा उमालेर चिनीको रसमा डुबाएर स्वादिष्ट मिठाई बनाएर वजन बढाउन, टी.बी. निको पार्न, मुटुको कमजोरी, शरीरको तापक्रम ठीक गर्न, शुक्रकीट पात्लो भएमा तथा रक्तअल्पता जस्ता निको पार्न मद्दत गर्दछ ।

ग) नारीयलको तेलमा कुबिन्डोको बोक्रा तथा बीउ उमालेर रौं बृद्धिविकास तथा कपालको डैन्ड्रप र छालाको सुख्खापनलाई निको पार्दछ ।

घ) कुबिन्डो रगत जमाउन सहयोग गर्दछ । परापूर्व कालदेखि यसको रस एक चम्चा आँवला वा कागतीको रससँग मिसाएर प्रयोगले फोक्सोको रगत बग्ने तथा पिसाबमा रगत आउने समस्यालाई निको पार्न सहयोग गर्दछ ।

ङ) पिसाब गराउने गुण भएकोले पिसाबको समस्यालाई कम गर्नुका साथै शरीरको विकारलाई बाहिर निकाल्न सहयोग गर्दछ ।

च) कुबिन्डोको बीउको बोक्रा हटाइएको भागलाई नारियलको पानीसंग खाँदा तन्तुको विकास तथा आन्द्राको फिते जुका वा अन्य जुकालाई निकाल्न सहयोग गर्दछ ।

छ) कुबिन्डो कब्जियत निको पार्न सहयोग गर्नुका साथै पाचन प्रणाली सम्बन्धी बिकार कम गर्दछ ।

ज) यसमा कडा एन्टासिड (अम्ल निर्मलीकरण) गुण भएको शरीरको पी.एच. कायम राख्दछ । अम्लीय खाद्य तथा पे–पदार्थ सेवनबाट उत्पन्न हुने एसिडिटी (अम्लीयपना) नियन्त्रण गर्दछ ।

झ) यो साधारण किसिमको चिसो, कफ, ज्वरो, पुरानो कफ, दामा, इन्फल्यून्जाको उपचार गर्न सहयोग गर्दछ ।

ञ) आयुर्वेदमा कुविन्डो मिर्गी, दमा, फोक्सोका रोगहरु, पिसाब रोकिने, आन्तरीक रगत बग्ने तथा खोकीको उपचारमा प्रयोग भएको पाईन्छ ।

ट) यसको रस पारा तथा सर्पको बिषाक्तामा प्रभावकारी रहेको छ । यो मुखको क्यान्सर उपचार र दाँत तथा दाँतको मांसपेसीको सुरक्षाका लागि यसको रसले नियमित मुखमा राखेर कुल्ला गर्नु पर्दछ । यसले दाँतको रगत बग्ने रोग ठीक गर्दछ ।

ठ) यसमा कम क्यालोरी भएको र अन्तर्दहन क्रिया बढाएर तथा सुगरलाई बोसोमा परिवर्तन गरेर मुटापा कम गर्न सहयोग गर्दछ ।

ड) थायराइड सम्बन्धीको समस्या उपचार गर्न मद्दत गर्दछ ।

कुबिन्डाको घरायसी प्रयोग

क) नछिपेको वा कलिलो कुबिन्डो तरकारी तथा अचार बनाउन प्रयोग गरिन्छ ।

ख) छिपेको कुबिन्डो अधिकांस सुकुटीमासुको रुपमा प्रयोग गरिन्छ ।

ग) कलिलो पात तथा कोपिलाहरु तरकारी साग पकाउन प्रयोग गरिन्छ ।

घ) कुबिन्डोको मसौरा बनाउन अत्यधिक प्रयोग गरिन्छ ।

ङ) कुबिन्डोको पेठा वा मोरब्बा वा कैन्डी व्यवसायिक रुपमा बनाएर बिक्री गर्ने गरिन्छ ।

च) यो दक्षिणी भारतमा साम्भर तथा करी बनाउन प्रयोग गरिन्छ ।

उत्पादन प्रविधि

गर्मी वा बर्षा याममा हुने लहरे तरकारी बालीहरुमा लौका, घिरौला, झिगुनी, करेला, फर्सी, काँक्रो, पडवल, कुबिन्डो र स्कुस आदि पर्छन । यी बालीहरु मध्ये कुविन्डो अपहेलित रहेको छ । जबकि अरु लहरे तरकारीबालीहरु मध्ये अति गुणकारी रहेको विभिन्न श्रोतबाट पता लागेको छ । यो बालीको उन्नत खेती प्रविधि तथा प्रयोगको बारेमा प्रचार प्रसारको कमीले गर्दा व्यवसासायिक रुपमा खेतीको सुरुआत भएको छैन । यो बालीले गरीब विपन्न एवं जग्गा विहिन परिवारहरुको खाद्याान संकट तथा पोषण सुधारमा उल्लेखनीय भूमिका खेल्न सक्ने देखिन्छ ।

माटो तथा हावापानीः अम्लिय भएको बाहेक सबै किसिमको माटोमा राम्रोसित लगाउन सकिन्छ । यसको लागि गर्मी मौसमको गरम हावापानी उपयुक्त हुन्छ । यसको खेती नदिको किनारामा बलौटे जमिनमा पनि सफलतापूर्वक गर्न सकिन्छ । यो कम उर्वराशक्ति भएको जग्गामा, घर छाप्रो छानोमाथि, रुखमाथि तथा मल खाडलको वरिपरिको जग्गामा राम्रै उत्पादन भै रहेको पाइन्छ ।

जातः सी.ओ. १, कारा कुम्बाला, बुद्धि कुम्बाला

बीउ दरः ५०– ६० ग्रा. प्रति रोपनी ।

लगाउने समयः पुस देखि फाल्गुन सम्म गर्मी मौसमको र बैसाख देखि जेष्ठसम्म बर्षे मौसमको तरकारी रोपिन्छ ।

रोपने दुरीः लाईन देखि लाईन २.५. मी. र विरुवा देखि विरुवा २ मी.दुरीमा रोप्नु पर्छ ।

रोप्ने तरीका : जग्गा तयार गरीसकेपछि वा आवश्यक दुरीमा खाल्टो खनिसकेपछि बेर्ना उमारेर वा सिधै खेतबारीमा एक ठाउँमा तीन वा चार बीउको दरले रोप्नुपर्छ । बीउ जाडो याममा उम्रन सक्ने संभावना कम भएकोले बीउ रोप्नु भन्दा ३६ घण्टा पहिले पानीमा राखेर १२ घण्टा तातो ठाउँमा अंकुरण हुनको लागि कपडा वा हरीयो पातमा बाँधेर राख्नुपर्छ ।

मलखादः कम्पोस्ट मल वा गोठेमल ३०–४० टोकरी प्रति कठ्ठा जोत्ने बेलामा माटोमा राम्ररी मिलाउनु पर्छ । नाईट्रोजन : फोसफोरस : पोटास : ३.३:२:२ कि.ग्रा. प्रति कठ्ठा आधा भाग नाईट्रोजन र पुरै फोसफोरस र पोटास रोप्ने वेलामा माटोमा हाल्नु पर्छ । बाँकी आधा भाग नाईट्रोजन २ चोटि ३० दिन र ६० दिनमा सिंचाइ पश्चात् दिनुपर्छ ।

सिंचाई र गोडमेल: यो बालीमा प्रायः सिँचाइ गरेको पाइदैन । तर माटोको चिस्यान अनुसार जमिन सँख्खा हुनु अगावै सिंचाई गर्नु पर्छ । बर्षा याममा सिंचाइ दिनुपर्दैन । पानीजम्न नदिनको लागि निकासको व्यवस्था र माटो चढाउने गर्नुपर्छ । जरा नजिकै माटो खुकुलो हुनुपर्छ तथा जरालाई घाँसपातले छापो दिनुपर्दछ । नाईट्रोजन मल राख्ने बेलामा सिंचाई अनिवार्य हुन्छ । लहरालाई थाक्रा लगाउनुपर्छ । झारपातलाई शुरुकै अवस्थामा गोडमेल गरी हटाउनु पर्छ ।

रोग किरा व्यवस्थापन

किराहरुः यो बालीको पातमा झुस वा रौं भएकोलधेरै किरा लाग्दैन । तरफर्सीमा लाग्ने लाही, फलको झिंगा, रातो खपटे किरा, इपिलेचना, सुलसुले, झुसिले किराले थोरै नोकसानी पु–याउँछ ।

रोगहरुः सेतो धुले ढुसी, एन्थ्राक्नोज (कालो दाग), फ्यूजेरीयमबाट हुने ओइलाउने रोग, पातको थोप्ले रोग, डाउनीमिल्यु (खैरो धुले ढुसी), फल कुहिने रोग, गुजमुजे र छिरबिरे रोग आदि ।

बाली संरक्षणका उपायहरुः

१. रातो खपटे किराको लगि कारबोरिल २ ग्राम, १ मि.लि. रोगर वा १.५ मि.ली. क्वीनोलफस वा २ मि.लि. इन्डोसल्फान प्रति लि. पानीको दरले स्प्रे गर्नु पर्दछ ।

२. इपिलेचना खप्टे किराको लागि ४ मि. लि. मालाथियन वा ३ मि.लि. थायोडीन वा २ ग्रा.सेभिन पाउडर प्रति लि. पानीका दरले स्प्रे गर्नुपर्छ । रोग नियन्त्रणका लागि डाइथेन एम.४५ वा डाइथेनजेड ७८ २ ग्रा. प्रति लि. वा नुभान १० मि.लि.वा १ इजि ट्याब प्रति १० लि.पानीको दरले स्प्रे गर्नुपर्छ ।

३. फल झिंगाको लागि ३ ग्रा.सेभिन पाउडर वा ४ मि.लि. मालाथियन ५० इ.सी. प्रति लि.पानीको दरले प्रयोग गर्नुपर्छ । यसको नियन्त्रणको लागि क्यूल्युर (मेथाइल युजिनोल) कपासमा भिजाइ १०० मि.लि.को खाली बट्टामा तारले झुण्डाइ दुवै तिर प्वाल पारीन्छ र पासो तयार पारी भित्र मालाथियन विषादीले भिजाएको कपास पनि राखिन्छ । वा मालाथियन १० मि.लि. प्रति लि. पानीमा र त्यसैमा केही गुलियो पदार्थ चिनी/मिठा भा“डोमा राखी पासो बनाएर झिंगालाई नियन्त्रण गर्न सकिन्छ ।

४. लाहीको लागि २ मि.लि.मालाथियन ५० इ.सी.वा १ मि.ली. मेटासिष्टोक्स वा १ मि.लि. मोनोक्रोटोफस प्रति लि.पानीको दरले प्रयोग गर्नुपर्छ ।

५. झुसिले किराको लागि डि.डि.भि.पी. १.५ मि.लि.वा थायोडान १.५ मि.लि. प्रति लि.पानीको दरले प्रयोग गर्नुपर्छ ।

६. सेतो धूले ढुसी रोगको लागि रिडोमिल वा क्रिलोक्सील १ ग्रा. प्रति लि.पानीको दरले रोपेको ३ हप्ता पछि १५/१५ दिनको फरकमा प्रयोग गर्नुपर्छ ।

७. डाउनीमिल्ड्यूको लागि ७५० ग्रा. सल्फर धुलो प्रति कठ्ठा बिहान छर्नुपर्छ ।

८. एन्थ्राक्नोज (कालो दाग) को लागि १ ग्रा. पारोयुक्त ढुसी नासक सेरे सान, एरेथान वा बविस्टिन बेनलेट आदिबाट १ कि.ग्रा. बीउको दरले उपचार गर्नुपर्छ । साथै डाइथेन एम.४५ डाइथेन जेड.७८२ ग्रा. प्रति लि.पानीको दरले स्प्रे गर्नुपर्छ ।

९.फ्यूजेरीयमबाट हुने ओइलाउने रोगको लागि २.५ ग्रा. बविस्टिन वा बेनलेट प्रति कि.ग्रा. बीउको दरले उपचार गर्नुपर्छ । माटोलाई ५५ फरमालडिहाइडले उपचार गर्नुपर्छ । वा बीउलाई ५५ डिग्री सेन्टीग्रेडमा तातोपानीले भिजाएर १५ मिनट सम्म उपचार गरेर क्याप्टान वा सेरेसानले १ ग्रा. प्रति कि.ग्रा. बीउको दरले उपचार गर्नुपर्छ । फल सड्ने रोगको लागि फललाई सिधा माटोसँग सम्पर्कमा आउन दिनुहुदैन । फलमा घाउ लाग्न दिनु भएन यदि घाउ लागेमा शुरुमा नै जम्मा गरेर अलग गर्नुपर्छ । २ ग्रा. ब्लाइटोक्स ५० वा बोर्डो मिश्रणले माटोलाई भिजाउनुपर्छ ।

१०. पातको थोप्ले रोगको लागि सेरेसान वा थिराम वा कुनै मक्यूरा‘क्लोराइड बाट १ ग्रा. प्रति कि.ग्रा. बीउको दरले उपचार गर्नुपर्छ । साथै ४०० पी.पी.एम.को मात्रामा स्ट्रेप्टोमाइसिन छर्नुपर्छ ।

११. छिरबिरे वा गुजमुजे रोगको लागि झारपात उखेल्नुपर्छ र नष्ट पार्नुपर्छ । थायोडान २ मि.लि. या मेटासिष्टोक्स १ मि.लि.वा मोनोक्रोटोफस १.५ मि.लि.वा क्वीनोलफस १.५ मि.लि.प्रति लि.पानीको दरले स्प्रे गर्नुपर्छ ।

उत्पादनः ४ देखि ५ क्वीन्टल प्रति कठ्ठा ।

Tags: 

Category: 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social