Shree Bhagavan Thakur's picture
Posted by Shree Bhagavan ...

परिचयः बाँस (Bambusa vulgaris Schrad. ex Wendl.) घाँस परिवारमा पर्ने संसारका धेरै राष्ट्रहरुमा पाईने र छिटो बढने महत्वपूर्ण काठे घाँस हो । बाँस परापूर्वकाल देखि निर्माण कार्यमा प्रयोग हुने र भूमि तथा जलाधार संरक्षणमा आदिकाल देखि प्रयोग हुदै आएको छ । बाँस भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, आर्थिक, बैदिक, औद्योगिक, औषधो, वातावरणीय दृष्टिकोणबाट असाध्यै मानव जीवनको अमूल्य वनस्पति हो । यो नेपालको पूर्व देखि पश्चिमसम्म तराईको भूभाग देखि उच्च पहाडसम्म हुने गर्दछ । नेपालमा पाइने ४० प्रजातिका बाँसहरु पाइन्छ । तर अधिकाँस पुर्वी नेपालमा बढी मात्रामा पाइन्छ । बाँस विशेष गरी प्राकृतिक जंगलमा पाइने गर्दछ तथा गाउँ वरिपरि र निजि जग्गामा पनि धेरै लगाइने गरिन्छ । यसको हल्का बजन, धेरै लचिलोपन तथा फाट्ने÷ चिरिने गुण भएकोले भूकम्प, बाढी, पैरो, आगलागी जस्ता प्राकृतिक प्रकोपमा तत्काल घर निर्माणका उचित सामग्रीको रुपमा मानिन्छ । यो संसारमै बढी कार्वन डाइअक्साइड भंडारण गर्ने काठको रुपमा चिनिन्छ र पृथ्वी तात्नबाट पनि बचाउँछ ।

उपयोगिताः बाँस अरु वनस्पतिभन्दा निम्न गुणहरुले गर्दा बढी उपयोगी मानिन्छ ।

  • बानस्पतिक प्रजजन् तथा विस्तार क्षमता
  • अनेकौ पटक दोहन तथा कटानी गर्न सकिने गुण
  • बलियो तथा हल्का वजनको वस्तु
  • कमसल र अबल जग्गामा हुने क्षमता
  • छोटो अवधिमा तयारी हुने
  • अरु रुखहरुसँग लगाउन मिल्ने ।

यसको प्रयोग आहारा देखि पूर्वाधारसम्म गरिन्छ ।

भान्सा तथा घरायसी कार्यमा

बासको तामाबाट तरकारी, अचार, आदिको रुपमा प्रयोग हुने गर्दछ । बाँस आदि काल देखि घर बनाउन, गाइवस्तुको घाँस,सोतर, बन जंगलमा हात्ती तथा जनावरहरुका घाँसमा प्रयोग गरिन्छ । अन्न नाप्न तौल्न माना पाथी, सेर आदिका भाडा बाँसको बनाउने चलन अहिले पनि विधमान छ । यो दाउराको रुपमा पनि प्रशस्त प्रयोग गरिन्छ । बाँसकै पानको सिनका, दाँत खोदने सिन्का, आइसक्रीम तथा अगरबतीको सिन्का बनाउन असाध्यै प्रयोग गरिन्छ । पार्क, बगैचा तथा घर आँगनमा सौन्दर्यताका लागि पनि बाँस लगाउने गर्दछ । बर्षात तथा हिउँदको बेला वा अन्य घाँसको अभावको बेला बाँसको पात गाईवस्तुलाई खुवाउन सकिन्छ ।

कृषि कार्य

बाँसको प्रयोग कृषि कार्य जस्तै माटो सम्याउने पाटा, हलोको जुवा, हरिस, गाडाका पार्टहरु तथा उत्पादन भण्डारण गर्ने भकारी, डोको, टोकरी, ढकिया, सुपा, नांगला, चाल्नो आदि बनाउनमा गरिन्छ । बाँसको सिढि, मचान, तरकारीको झाँग, बार, गाइवस्तुको जाबो, घाँसको डेली, आदि बनाउन प्रयोग गरिन्छ । बाँसको प्रयोग सिँचाइको बोरिगको लागि पाइप, कुलो, कुखुराको दाना खुवाउने भाडो, दुध दही ध्यू राख्न भाडो, माछा मार्न तथा संकलन गर्न विभिन्न सामग्री, बनाउन, ढिकी पम्प बनाउन, गमला, नर्सरी, टनेल, थाक्रा तथा हरित गृहका साथै अनेकौ कृषि औजार उपकरण बनाउन प्रयोग गरिन्छ ।

निर्माण तथा फर्निचरमा

बाँस घरको खम्बा, कोरो, धुरी, टाटी, छेकबार, टेन्ट, गोठमा प्रशस्त प्रयोग गरिन्छ । बाँसको प्रयोग आजकल फलामको डन्डीको सटा बाँसको भाटा प्रयोग गरिन्छ । घरको झयाल ढोका छाना आदिमा प्रयोग गरिनुकाु साथै आजकल बाँसको प्लाइ समेत बजारमा उपलब्ध हुन थालेका छन । बाँसको विभिन्न किसिमका आकर्षक फर्निचरका सामग्रीहरु जस्तै कुसी, मेच,मुढा, टेबल, बेन्च, डस्ट बिन, दराज, बुक रयाक, आदि सर्वाधिक प्रयोग हुन थालेका छन । बाँसको प्रयोग ससाना पुल पुलेसा बनाउन देखि नदीको बाँध बाँध्न प्रयोग गरिन्छ । घर ढलान गर्न सेन्ट्रिग गर्न बाँसको प्रशस्त प्रयोग गरिन्छ ।

मनोरंजन तथा खेलौना

धेरै जसो होटेल चमेना गृहमा बाँसको कटेज बाँसको बनाएको हुन्छ । आजकाल बाँसको धेरै हस्तकलाका सामग्री तथा खेलौनाहरु प््राख्यात हुन थालेका छन । धेरै पार्क तथा मनोरंजन स्थलमा बाँसको आकृति तथा पूर्वाधार बनेको पाइन्छ ।बाँसको बच्चाहरुको लागि पिंग तथा दशैमा पिंग बनाउन प्रयोग गरिन्छ । तराइ तथा भारतमा खेलिने डाँडिया, लाठी,आदि पनि बाँसकै बनाइन्छ । तराइमा मानिने हिन्दुहरुको महाविरी झंडा, शिवको काँवर, मुसलिमहरुको तज्या बाँसबाट बनाइने गरिन्छ । संगीतका सामग्री जस्तै बाँसुरी, सांरंगी, आदि बाँसबाट बनाइन्छ ।

धार्मिक, साँस्कृतिक तथा बैदिक कार्यमा

बाँसको प्रयोग छठ पुजाको ढकिया, सुपा, नांगला बाँसकै प्रयोग हुन्छ । विवाहमा प्रयोग हुने मडवा, मंडप, डाला, बाँसको बनाएको हुन्छ । पूजा, ब्रतबन्ध, विवाह तथा अन्यशुभकार्यमा हरियो बाँसको झन्डा घरको आँगनमा प्रयोग गरिन्छ । मान्छे मृत्यू पश्चात हरियो बाँसको खटोला पालकी, फर्की बनाइन्छ ।

औषधी तथा औधोगिक

गाइवस्तुको पेट झर्ने तथा साल भर्ने ढिलो गरेमा बाँसको कलिलो पात खुवाउनु पर्दछ । बाँसको गाँठको रौंहरु काटेको ठाउँमा रगत बन्द गर्न मदत गर्दछ तथा बाँस लोचन भन्ने बैदिक गुण भएको बस्तु बाँसमै पाईन्छ । बाँसबाट विभिन्न उद्योगहरुमा कच्चा पदार्थको रुपमा पेपर, कुट तथा विभिन्न फर्निचर, खेलौना, उपहार, मनोरंजन सामग्री बनाउन प्रयोग गरिन्छ ।

बिपतका पूर्वाधार निर्माण

बाढी, भुकम्प, आगलागी, पैरो जस्ता विपतमा शिघ्र आश्रयका लागि टहरा, टेन्ट बनाउन र सडक कटान तथा बाढीको बेला बाँसको पुल, बनाउन सकिन्छ । हालसाथैको महाभुकम्पको कारण लाखौ घरपरिवार छद विछेद भएको अवस्थामा भारत लगायत अन्य ठाउँबाट आएको बाँसले देशमा टेन्ट बनाउन धेरै राहत पुरयाएको छ । नेपाल बाढी पैरो कटान धेरै नै जाने भएकोले यसलाई भूक्षय जानबाट रोक्न धेरै नै प्रयोग गरिन्छ ।

औजार उपकरण

सिकारका हात हतियार जस्तै बाण, धनुष, माछा मार्ने बल्छी, पेरुगाें, चाँचर, ढुंग्रो, भाला, आदि बनाउने पनि गरिन्छ ।

त्यसैले बाँस विश्वमा आश्रय, जिविकोपार्जन, बातावरण तथा खाद्य सुरक्षाका चुनौतीमा सहयोगी मानिन्छ र अतः गरीवहरुको काठ तथा हरियो सुन पनि भनिन्छ ।

प्रजातिः

बाँस मुख्य गरी २ किसिमका हुन्छन । १। अग्लो हुने तथा २। होचो हुने ।

अग्लो हुने जात मध्य पहाडको तल्लो भेक तथा होचो हुने जात उँच्च पहाडमा पाइन्छ ।

माटो तथा जग्गाको तयारी

बाँस साधारणतया कमसल जग्गा नदीको किनार, खहरे, खोला नाला, बगर, पानी जम्ने, कम मलिलो जग्गामा लगाइएको पाईन्छ । यसको खेतीको लागी बलौटे दोमट देखि दोमट चिम्टयाइलो माटो उपयुक्त हुन्छ । नदीको कटानका तथा चटान भएको माटोमा पनि खेती गर्ने गरिन्छ । यसको खेती सेपिलो चिस्यान भएको जग्गामा भए पनि पानीको निकास भएको ठाउँ चाहिन्छ । यसको लागि पी एच ४.५ देखि ६ सम्म उपयूक्त मानिन्छ ।

कलम तथा मुढा रोप्दा ५ मी. ह् ४ मी.को दुरीमा रोप्नु पर्दछ ।

प्रसारण तथा मुढाको रोपाइ

यो बिउबाट पनि प्रसारण भएता पनि साधारणतया बानस्पतिक विधिबाट प्रसारण गर्ने गरिन्छ र छिटो बृद्धि विकास हुन्छ । विउबाट नर्सरी लगाउँदा प्लाष्टिक थैलामा विउ राखेर १ वर्षसम्म ब्याडमा हुर्काएर मुख्य जग्गामा विरुवा रोपिन्छ । तर बाँसको बिउ पाउन अलि गाह्रै हुने भएकोले बाँसको जरा तथा आँख्ला कटिंगबाट विस्तार गरिन्छ ।

बानस्पतिक प्रसारण २ बटा विधिले गरिन्छ । क) जरा मुढा बाट, ख) कलमी कटिंग विधिबाट ।

क) जरा विधिबाट रोपाइ गर्दा साधारणतया १ वर्ष पुरानो बाँसको जरा १ मीटर लम्बाई भएको मुढा खनिन्छ अनि १.५ हात जति गहिरो खनेर चौडाई २ हात जतिको खाडल खन्नु पर्दछ । खाडलको माथिल्लो माटोले भित्र तथा तल्लो माटोले माथिबाट राम्ररी खाँदिएर पुर्नू पर्छ र तर रोप्दा नयाँ कलमी तथा मुढा जाडिएको भागमा चोटपटक लाग्नबाट बचाउनु पर्दछ । रोपेको तत्कालै पानी हालेर सिंचाइ गर्नु पर्दछ । यसरी रोप्दा चित्रमा देखाए जस्तै ठाडो विधि र तेर्सो विधिबाट रोपाइ गर्नु पर्दछ ।

ख) कलमी कटिंग विधिबाट प्रसारण गर्दा बर्षायामभन्दा अगावै २ वर्ष पुरानो ३ सेमी भन्दा बढी गोलाई भएको बाँस २ अथवा ३ आँख्ला भएको सिधा विकास भएको बाँसबाट कटिंग धारिलो औजारले सफासँग काट्रनु पर्दछ । कटिंगको राम्रो सफलताको लागि कटिंग काटिने बाँसको १ वर्षमा माथिलो भाग काट्दा हाँगाहरु विकास राम्ररी भइ कटिंग धेरै नै फस्टयाउँछ । धेरै छिपिएको आँख्ला, रोग किरा लागेको कटिंगको कलमीमा प्रयोग गर्नु हुदैन । छेउ छाउका हाँगाहरुको पहिलो आँख्ला पछि काटनु पर्दछ र खनिएको खाल्डोमा लामो गरी अँख्ला भित्र पारेर ५ सेमी गहिरो गरी गाडनु पर्दछ । तर यसरी गाडदा मनशुन समयमा अलि माथिल्लो गरी गाडनु पर्दछ, नत्र कुहिने डर हुन्छ ।

अर्को विधिमा ८ वटा आँख्ला भएको कटींग कलमी बाँसलाई तेर्सो गरी खाल्डोमा हल्का हाँगाहरु बाहिर देखिने गरी गाडेर पनि रोप्न सकिन्छ । रोप्ने वितिकै तुरन्तै पानी हाल्ने कार्य गर्नु पर्दछ ।

समयः

बर्षातको समय भन्दा अगाबै आधी जेष्ठ देखि भदौसम्म चिसो बाहेकको समयमा रोपिन्छ । साधारणतया बाँस हिउँद शुरु हुनु भन्दा ६ हप्ता अगाडि रोप्नु पर्दछ नत्र तुषारो तथा शीतले विरुवा सुकाउँछ ।

मल खादः

नाइटोजन, पोटासियम, कम्पोष्ट, काठको खरानीे, हरियोमल, रसायनिक मल बेला बेलामा दिनु पर्दछ । घोडाको मल बाँसको लागि राम्रो मानिएको छ । साधारणतया खेत खलिहानको भुस, छवाली, नलहरु बाँसको घानीमा राखेर माटोले छोपिन्छ । बाँसको कलमी तथा मुढा रोप्दा १ भाग माटो तथा १ भाग कुहेको कम्पोष्ट मलले राम्ररी पुर्नु पर्दछ । रोपेको १ वर्ष पछि जब धेरै तामाहरु निस्किन थाल्दछ अनि डी.ए.पी. प्रति घना २५० ग्राम बाट शुरु गर्नु पर्दछ अनि तेश्रो वर्ष ५०० ग्राम यस्तै प्रत्येक वर्ष २५० ग्राम बढाउदा राम्रो उत्पादन हुन्छ । साथै म्यूरेट अफ पोटास २०० ग्राम हाल्दा धेरै फाइदा हुन्छ । मल साधारणतया पानी पर्न थाले पछि र बाँस कटानी गरेपछि हाल्दा उपयूक्त मानिन्छ ।

सिंचाई

रोपे पछि केही हप्तासम्म प्रति हप्ता २, ३ पटक पानी हाल्नु पर्दछ । बाँसमा हरियो पालुवा आए पछि माटोको चिस्यान हेरेर सिचाइ गर्नु पर्दछ । तर चैत्र र बैसाखमा पानी हाल्दा उत्पादन राम्रो बढेका पाइएको छ । पानीको निकास राम्ररी बनाउनु पर्दछ पानी जम्नबाट बचाउनु पर्दछ ।

बार बन्देजः

बाँस रोपेपछि गाइवस्तुबाट चर्नबाट बचाउन काँडा, तारबार तथा घेराबेरा तुरन्तै लगाउनु पर्दछ ।

गोडमेल तथा खनजोत

रोपेको ३ ,४ वर्षसम्म झारपात तथा घाँसपात निकाल्नु पर्दछ । वर्षमा २, ३ पटक खनजोत गर्दा जरामा हावा खेल्ने तथा राम्ररी बृद्धि विकास हुन्छ । माटोको चिस्यान बचाई राख्न तथा झारपात उम्रिनबाट रोक्न सुकेका पात पतिंगर तथा सोतर स्याउलाबाट वाँसको वरिपरि मल्च गर्नु वा छोप्नु पर्दछ ।

अन्तरबाली

बाँसको राम्रो आम्दानी लिन ५ वर्ष लाग्ने भएकोले ३ वर्षसम्म अन्र्तबालीको रुपमाः अदुवा, बेसा।र, खुर्सानी, छाया रुचाउने विरुवाहरु लगाउन सकिन्छ ।

कटाई :

रोपेको ३ वर्ष पछि बास काट्न शुरु गर्न सकिन्छ । तर ५ वर्षमा काट्दा आर्थिक लाभ लिन सकिन्छ । त्यसपछि प्रत्येक वर्ष १ घारीबाट कम्तीमा १० घनाबाँस काट्न सकिन्छ, यसरी ३० वर्षमा ३०० वाससम्म १ घारीबाट काटिन्छ । बाँस काट्रदा २ वर्ष पुरानो बाँस मात्र काट्नु पर्दछ । दिगो रुपमा लाभ लिनका लागि सबै बाँस नकाटी केही हरियो बाँस छोडी काटनु पर्दछ । पुरानो सुकेका मुढाहरु दाउराको लागि चिसो समयमा निकाल्नु पर्दछ ।

अन्तमाः बाँस मानव जीवनको लागि तथा नेपाल जस्तो गरीव तथा प्राकृतिक प्रकोपको संवेदनशील मुलुकका लागि बहुउपयोगी काठको विकल्पमा तराई पहाड र हिमालमा सरकारको निति देखि किसानको घर गृहस्तीमा राख्नु पर्ने देखिन्छ । जसले सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय, औद्योगिक फाइदा देशलाई प्रदान गर्दछ । यसको खेती अबल जग्गामा सजिलैसंग गरी मानव जीवनको हरेक कार्यमा आहार देखि पूर्वाधारसम्म गर्न सकिन्छ । हालै गएको महाभुकम्प तथा भविष्यमा आउने त्यस्ता प्रकोपबाट सामना गर्न, वन जंगलको अनावश्यक दोहन तथा कटानी रोक्न, भू तथा जलाधार संरक्षण गर्न, भुकम्पको चिरा चिराबाट हुने संभावित खतराबाट बाँच्न बास नै उत्तम हुन सक्छ ।

श्रोतः

  • Bamboo planting method http://www.completecbamboo.com/bamboo_planting
  • Bamboo for integrated development http://www.keralagriculture.gov.in
  • Jonathan c. et. al., 2008, A guide for extension worker and bamboo growers, Raising bamboo from stem cutting, Kenya forestry research institute.
AttachmentSize
PDF icon bamboo_cultivation_tech_in_nepal.pdf602.79 KB

Tags: 

Category: 

 

Sign up now to join forestryNEPAL - an online community of people interested in Nepalese forestry and related sector. Connect with your peers, share your work, and make your opinion count!

Newsletter

Get forestryNepal news straight to your inbox.

Social