ओल खेतीको उन्नत प्रविधि

By SHREE BHAGAVAN ... - 9/6/2025

ओल नेपालको पुर्वी भेकमा प्रशस्त खेती गरिन्छ । यस्को खेती सिरहा, सप्तरी, धनुषा, महोतरी, सुनसरीमा आफनो घर खर्चको रुपमा गरिन्छ । यसको गानो हातीको खुटा जस्तो देखिने भएकोले यसलाई अंग्रेजीमा Elephant foot yam भनिन्छ । यो ठूलो क्षेत्रमा खेती नगरेपछि करेसाबारी या घरको वरिपरि फाल्तु जमीनमा खेती गरेको पाइन्छ तथा यो आवश्यकता अनुसार खनेर तरकारी तथा चटनीको रुपमा प्रयोग गरेको पाइन्छ । यो आषधी गुणले भरिएकोले यसको महत्व निकै ठूलो रहेको छ ।

उपयोगः

यसको प्रयोग भान्सामा तरकारी, अचार, बडा, चटनी, पकौडा, पोख्ता, आदि बनाउन प्रयोग गरिन्छ । यो बाली एउटा नगदे बालीको रुपमा देखिन थालेको छ । यसको तरकारी खानाले कब्जियत कम हुनुको साथै बबासीर पाइल्स, आउँ, मासी, दामा, फोक्सो सुनेको, बान्ता, पेट दुख्ने, आदि रोग उपचारमा फाईदा पुर्‍याउँदछ । यो उसिनेर काटेर, मुचेर, तेलमा तलेर, बेसनको घोलमा डुबाएर विभिन्न परिकारहरु बनाएर खाईन्छ । यसको जंगली जात खाँदा कोक्कयाउने गुण (क्याल्सियम औक्जालेट रसायन) भएकोले कागती मिसाएर खाईन्छ । तर हालको विकासे जातहरुमा सो गुण नभएकोले धेरैले खान थालेका छन । यो नागपञ्चमीको दिन अनिवार्य रुपमा हिन्दुहरुले सर्पको दाँत कुढिने वा तिखो होस वा विष नलागोस भनी विश्वासका साथ अमिलोसंग मिसाएर खाने परम्परा छ ।

ओल भाद्र महिनामा बढी खाने परम्परा रहेको छ । यो पहिले पहिले धनीहरुको खेर गइरहेको जग्गामा लगाइने गरीवहरुको पहुँचमा नहुने भएकोले र धनीहरु मात्र खाने गरेकोले तराइमा एउटा भनाइ रहेको छ “ भादोके ओल कि खाए राजा कि खाए चोर “। यो खास गरेर भदौ असोजमा जुन बेला तरकारीको अभाव हुन्छ सो बेलामा यसको माग रहने भएकोले बढी महँगो भाउमा विक्रि हुन्छ । या प्रति किलो २० देिख ३० रु.सम्म बजारमा विक्री वितरण भइरहेको छ ।

माटो तथा हावापानीः

यसको लागी न्यानो (२०–३० डि.से.) र आद्र हावापानी (८०–९० ∞) भएको क्षेत्र तथा हल्का दोमट देखि दोमट माटो पानी थाम्न सक्ने क्षमता भएको जमीन उपयुक्त मानिन्छ । आद्रता भएको मौशम पातको बृद्धि विकासमा र सुख्खा मौसम गानोको विकासमा सहयोग गर्दछ । यसको लागि हल्का छहारी चाहिने भएकोले नारियल, सुपारी, सपेता (मसाला), आँप, लिची, अम्बा, केरा, आदिको नयाँ बगैचामा २ –४ वर्षसम्म राम्ररी उत्पादन लिन सकिन्छ । यसको लागि १००० देखि १५०० मि.मी. वर्षा हुने क्षेत्र उपयूक्त हुन्छ ।

जग्गाको तयारीः

एकपटक गहिरो जोताई तथा २, ३ पटक हल्का जोताई गर्नु पर्छ । प्रत्येक जोताई पछि पाटा लगाउनु पर्छ । तैयार भए पश्चात १/१ मीटर वा ९० से.मी.को दुरीमा १/१ फीट लम्बाई, चौडाई र गहिराईको खाडल खन्नु पर्छ । एक कठ्ठामा ३५० देखि ३६० वटा सम्म खाडल खन्नु पदर्छ । कुलेसो खनेर पनि रोपिन्छ ।

मलखादः

प्रति खाडल ८ –१० कि.ग्रा.को दरले गोठेमल, १० ग्रा. युरीया, १५ ग्रा. डि.ए.पी. र १६ ग्रा. म्युरेट अफ पोटास प्रति खाडलको दरले राम्रो संग मिसाउनु पर्छ । १ चम्चाको दरले ब्लीचीङ्ग पाउडर पनि प्रयोग गर्नुपर्छ । रोपेको ८०–९० दिन पछि १० ग्रा. युरीया प्रति खाडलको दरले प्रयोग गरी माटो चढाउनु पर्छ ।

जातः

राजेन्द्र, त्रिवेन्द्रम २, गजेन्द्र, श्री पदमा, कुसुम, जातको विशेषता यो हो की यसको स–साना डल्ला हुदैन साथै कोक्याउने गुण हुदैन ।

वीउको आकार, तौल र विउ दर :

लगभग आधा कि.ग्रा. देखि एक किलोको मुढा विउको लागी उपयुक्त हुन्छ । प्रति कठ्ठा १७५–२०० कि.ग्रा.गानो विउको आवश्यकता पर्दछ ।

रोप्ने समय तथा तरीकाः

उपयुक्त तरीकाले खाडलमा ओल फागुन चैत्र महिनामा लगाउनु पर्छ । यदि चिस्यानको कमी भए पानी चलाएर खेत तैयारी गर्नुपर्छ । खाल्टोमा ओलको ५०० ग्राम देखि १ किलोको मुढा राखेर राम्ररी कुहेको कम्पोष्ट तथा गोठेमलले (मल नपाए माटोल)े छोपेर त्रिकोण (पिरामिड) को आकारमा ढाक्नु पर्छ । सकभर सिंगै मुढा रोप्नु पर्दछ ठुलो आकारको मुढा भएमा काटेर रोपनु पर्दछ । काटेर रोपदा कुहिने डर हुन्छ । त्यस्तो अवस्थामा बविस्टीन व थिराम ३ ग्राम लिटर पानीको दरले उपचार गर्नु पर्दछ । रोपिसकेपछि पराल, भुस, पात पतिंगरले छापो दिनु पर्दछ ।

विउको उपचारः

विउ उपचार गर्नु निलो तुथोको २% झोलमा ५ मिनेट सम्म उपचार गर्नु पर्छ । प्रति खाल्टो एक चमच व्लीचीङ्ग पाउडर माटोमा मिसाउनु पर्छ । गानोविउ रोपदा गाईको गोवरको घोलमा विषादी (डाइथेन एम ४५ र मोनोक्रोटोफोस ) गानोलाई डुबाएर छाँयामा १० मिनेट जति सुकाएर रोप्दा राम्रो उत्पादन लिन सकिन्छ । जैविक मल प्रयोग गर्नु परे सोही घोलमा मिसाएर प्रयोग गर्दा उपयूक्त हुन्छ ।

गोडमेल एवं सिचाई :

रोपेको ५०–६० दिनमा पहिलो सिचाई एवं २०–२५ दिनमा दाश्रो पटक गोडमेल सिचाई गर्नुपर्छ । आवश्यकता अनुसार वर्षा भन्दा अगावै १–२ पटक सिचाई गर्नु पर्छ ।

खन्ने, छनौट तथा भण्डारणः

रोपेको ६ देखि ८ महिनामा (मंसिर देखि पौष सम्म) ओलको बोट पात झुक्ने तथा पहेलो हुन थालेपछि खन्न लायक भएको हुन्छ । खन्दाखेरि गानोमा चोट पटक तथा घाउ लाग्न नपाओस भनी ध्यान दिर्नु पर्दछ । माटो सफा गरेर र ठूलो गानोलाई टुटाएर सफा गरी छनौट गर्नु पर्छ । यदि काटेको छ भने छुट्टै राख्नुपर्छ । हावादार, चिसो, छहारी भएको ठाउँमा र्‍याकमा अथवा मचान बनाएर राख्नुपर्छ ।

उत्पादनः

यदि आधा किलो बराबरको मुढा रोप्यो भने जात र व्यवस्थापन अनुसार १.३ देखि २ टन प्रतिकठ्ठा उत्पादन लिन सकिन्छ ।

बाली संरक्षण :

असोज कार्तिकमा लाग्ने अगौटे डढुवा धेरै लाग्न सक्छ । त्यसको लागी स्वस्च्छ एवं उपचार गरिएको विउ रोप्नु पर्छ । बाली चक्र अपनाउनु पर्छ । रोगको लक्षण देख्ना साथ वविस्टीन ०.०५% अथवा इन्डोफील एम–४५, २.५ ग्रा. प्रति लीटर पानीको दरले ३ पटक १५–२० दिनमा स्प्रे गर्नु पर्छ ।

बाली चक्रः

ओल धेरै खँचुवा बाली भएकोले मंसिर पौषमा गानो खनिसके पछि माटो मलिलो बनाउने बालीहरु बोडी, सिमी, मसुरो आदि कोसेबालीहरु लिन सकिन्छ । अन्तरबालीको रुपमा छोटो अवधिका बालीहरु मुंग, मास, काँक्रो,बोडी आदि २–३ महिना भित्र लिन सकिन्छ ।

About the author

Shree Bhagavan Thakur's picture

Full Name
SHREE BHAGAVAN THAKUR

Position
Agriculture Specialist

Organization
UNDP/LRP

View full user profile