“वन जोगावेला यते दिक्कत बुझाइय कि कहु सर मगर जहिया से वनमे चरी–चरण बन्द कदेलियैय तहियासे वन कइनका बचल है आ हराभरा है”। बालाझार मटेरवा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष गंगा महतो भन्छन् ।
धनुषा जिल्लाको हरिहरपुर गा.वि.स.को बालाझार मटेरवा सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, वन व्यवस्थापन तथा विपन्नहरुको जिविकोपार्जन सुधार गर्न वृक्षारोपण कार्यक्रम, सजिवन खेती इत्यादी काम गरेर अहिले नमूनाको रुपमा साबित भएको छ ।
बालाझार मटेरवा सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिले राष्ट्रिय वनको रुपमा थियो । दिन दहाडै वन माफियाहरुले टायरगाडा, ट्रयाक्टर आदीको प्रयोग गरी राष्ट्रिय वन क्षेत्रबाट काठ, दाउरा, लाथ्रा काटी ओसारपसार भई रहेको हुन्थ्यो । लाग्थ्यो दृष्य देख्दा वन कर्मचारी एवं प्रहरी प्रशासनले वन कटान गराई रहेका त छैनन् । यस्तै अघोषित रुपमा अतिक्रमणको सिकार भएको वन क्षेत्रहो बालाझार मटेरवा सामूदायिक वन उपभोक्ता समूह । जुन हरिहरपुर गाउँ बासीहरुले विगत सात वर्ष देखि वन ऐन तथा वन नियमावली अनुरुप समूदायलाई सामूदायिक वनको रुपमा प्रकृया पुरा गरी हस्तान्तरण गर्न अनुरोध गर्दै आइरहेका थिए । तर सम्बन्धित निकायले महत्व दिएन । समूदायले आफ्नो माग दावी गर्दै रहे । सरकारले नदी किनार वृक्षारोपण कार्यक्रम अन्तर्गत वि.सं. २०६२ सालतिर यस क्षेत्रमा करीब ३० हेक्टरमा सीसौ वृक्षारोपण भएको थियो । समूहको सहभागितामा उक्त कार्य भएकोले वृक्षारोपण भएको करीब ४ वर्ष सम्म दैनिकरुपमा पाले पहरा गर्दै आई रहे । जब वन प्रशासनले समूदायलाई वन हस्तान्तरण नगर्ने निधो गर्यो तब जनताले वन संरक्षण गर्न छाडे । “वि.सं. २०६३ साल देखि २०६५ साल सम्म समूदायले वन संरक्षण गर्न कुनै चासो दिएन” समूहको तत्कालिन अध्यक्ष जनक महतो भन्छन् । परिणाम स्वरुप त्यस क्षेत्रमा गरिएको ३० हेक्टर सीसौको जंगल विनास हुँदै गयो । त्यहाँका समूदायले वन पैदावारको उपभोग गर्नबाट बन्चित रहनुपर्यो । “जंगलमा घाँस, लाथ्रा बाहेक केहि थिएन” अध्यक्ष गंगा महतो भन्छन् । जलाइधक्षेत्रमा भू–क्षय, भू–स्खलनको घटना तिब्र हुँदै गयो । त्यस क्षेत्रका जनताको अवस्था दयनिय बन्दै गयो ।
सामूदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ, धनुषा र समूहको अध्यक्ष गंगा महतो बीच वि.सं. २०६६ साल बैशाखमा छलफल भयो र वन हस्तान्तरणका लागि अभियान मूलक कार्यक्रम (जस्तै आमसभा, सडक पत्रकार सम्मेलन, राजमार्ग चक्का जाम) केयर नेपाल, जलाइध एकिकृत जलाधार तथा प्राकृतिक श्रोत व्यवस्थापन (जीवन) कार्यक्रमका सहयोगमा तर्जुमा गरियो । फलस्वरुप वि.सं. २०६६ साल फाल्गुन २१ गतेका दिन जिल्ला वन कार्यालयमा जिल्ला वन अधिकृत हिरालाल कुशवाहाले समूहको प्रतिनिधि र महासंघको रोहवरमा वन हस्तान्तरण तथा दर्ता भएको घोषण गर्यो ।
वन हस्तान्तरण पश्चात उक्त समूहले वन संरक्षण, समूहको नियमित बैठक बस्ने, वन पहरा गर्ने कार्य निरन्तर जारी राखे । जिविकोपार्जन कार्यक्रम, वृक्षारोपण कार्यक्रमबाट वन हराभरा भएको अहिले देखिन्छ ।
“लाज लाग्दैन यो वन मेरो मात्रै हो यो सबैको हो जंगलमा गाईबाख्रा किन चराएको ?” अध्यक्ष गंगा महतोले चरीचरण गराउने व्यक्तिलाई हप्काउँदै भने । अहिले उपभोक्ताहरु केयर नेपाल जीवन कार्यक्रमले चुरे क्षेत्र संरक्षण, जलाइध जलाधारको संरक्षण गर्ने गरेको सहयोग अनुरुप फलफूल रोपण गर्ने, वन प्रजातिहरु रोप्न उत्सुक देखिन्छन् । सामूदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ धुनषा को समन्वयमा खिम्ति जलविद्युतको सहयोगमा सजिवन खेति गरी खालि रहेको नदि किनार क्षेत्र संरक्षण गर्ने, जलाधार व्यवस्थापन गर्ने लक्ष्यमा लागि परेका छन् । अध्यक्ष गंगा महतो भन्छन् “जीवन कार्यक्रमले पोखरी खन्न सहयोग गरिदिएमा माछापालन गरेर समूहको आयआर्जन बढाउन सहयोग हुन्थ्यो ।”
प्राकृतिक वन श्रोत सम्पदा बचाउनका निम्ति बालाझार मटेरवा सामूदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरु निरन्तर प्रयासमा जुटिरहेका छन् । दैनिक पाले पहरा गरी वन तस्करहरुलाई पक्राउ गरी वन ऐन तथा वन नियमावली अनुरुप कारवाही गर्न सक्षम देखिन्छन् ।
समूहको आमभेला निर्णयबाट विधान, कार्य योजनामा वनबाट टाढासम्म (भारतको सिमासम्म) का उपभोक्ताहरुलाई पनि समेटी सबैको वन स्रोतमाथि भएको पहुँच सुनिश्चित गर्नका लागि संशोधन गर्यो । र उक्त सामूदायिक वनको वन क्षेत्र विस्तार गर्दै राजमार्ग देखि दक्षिण भेगका १६ वटा गा.वि.स.का जनताहरुलाई समायोजन गर्नका लागि जीवन कार्यक्रमको सहयोगमा सामूदायिक वनको रणनिती अनुसार तराईमा एउटा नमूना सामूदायिक वनको रुपमा स्थापित भई राष्ट्रमा चिनाउने लक्ष्य बोकेको छ ।
Category:
