खोटो संकलन कार्यका लागि ”रिल प्रविधि” को उत्पति सन १९७६ मा भारतीय वन अनुसन्धान संस्था, देहरादुन (छिमेकी देश भारतको उत्तरांचल राज्यको राजधानी) बाट प्रयोगमा ल्याउन शुरुवात भएको हो । रिल प्रविधिको उत्पति हुनुभन्दा पहिले ”फ्रेञ्च कप र लिप प्रविधि” प्रयोग हुने गर्दथ्यो तर यो रिल प्रविधिको तुलनामा अवैज्ञानिक, खर्चिलो र वातावरणीय दृष्टिकोणले हानिकारक भएको ठहर गरिन्छ । नेपालमा यो विधि सन् १९८० को दशकको उत्तरार्दुदेखि प्रयोगमा ल्याइएको देखिन्छ । नेपालमा पनि वन सदुपयोग शाखा, वन अनुसन्धान तथा सर्वेक्षण विभाग, वन तथा भू–संरक्षण मन्त्रालय, बबरमहल काठमाण्डौले रिल प्रविधिबाट खोटो निकाल्ने दिग्दर्शन, २०६१ प्रकाशित गरिसकेको छ । उक्त दिग्दर्शनकै आधारमा अहिले नेपालको करिब ३३ जिल्लाहरुमा करीब १५ वटा खोटोमा आधारित उद्योगहरु खोटो संकलन गरिरहेका छन् । जसमध्ये श्री बगलामुखी रोजिन एण्ड टर्पेन्टाइन इ.(प्रा.).लि. पनि एक हो । यस उद्योगको कार्य क्षेत्र जिल्लाहरु जाजरकोट तथा रुकुम मध्य पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तगत भेरी अञ्चलको मध्य पहाडी, अति दुर्गम एवं विकट जिल्लाहरु हुन र यी दुवै जिल्लामा रहेको खोटे सल्ला वनको स्थलगत अनुगमन गर्दा अनुभव गरिएका सत्य तथ्यहरु तथा खोटो संकलन कार्यमा रहेका समस्याहरु र चुनौतीहरु थुप्रै रहेका छन् ।
अनुभवहरु :
१. स्थानीय जनताले प्रयोग गर्ने शब्दहरु :
| नेपाली नाम | अंग्रेजी नाम | स्थानीयस्तरमा प्रयोग गरिने नाम |
| खोटो | Resin | लिसा |
| खोटे सल्ला | Chir pine (Pinus roxburghii) | खोटे सल्ला |
| खोटे सल्लाको पात | Leaf (Needle like) | सल्लेपीर, कुसुम |
| Cone | Cone | सिम्ता |
| रिल बनाउने चक्कु | फ्रेसनिङ्ग नाइफ | चक्कु बिन्डा |
| सोलि सफा गर्ने चक्कु | – | कर्छि |
| टर्पेन्टाइन | Turpentine | तारपिन तेल |
| कामदार | Labour | खोपानि |
२. खोटो संकलन गर्ने विभिन्न विधिहरु छन् । यी प्रविधिहरु मध्येको विगतमा बढी प्रचलनमा रहेको विधि French up and Lip विधि हो । यो विधि अझै पनि भारतका केही राज्यमा प्रचलनमा रहेको छ । हाल बढी प्रचलनमा आएको रिल प्रविधि यसै प्रविधिको परिस्कृत रुप मानिन्छ । रिल प्रविधि तथा फ्रेन्च कप र लिप विधि दुवैको तुलनात्मक रुपमा केलाउँदा समय–समयमा विभिन्न अध्ययन एवं अनुसन्धानकर्ताहरुले निम्नानुसारको रायहरु अघि सारेका पाइन्छ ।
”फ्रेन्च कप र लिप प्रविधि” भन्दा रिल प्रविधि निम्न कारणहरुले गर्दा उपयुक्त मानिएको छ ।
- खोटे सल्लाको रुखमा रिल बनाउँदा २ मि.मि. सम्म मात्र गहिराई हुने हुँदा रुखको चुरोलाई असर गर्दैन जसले गर्दा काठको गुणस्तरमा ह्रास आउन पाउँदैन ।
- रुखमा ब्लेज बनाउँदा धेरै चोट नपुर्याई कम गहिराईमा बनाइने हुँदा खोटो निकालिएको रुखहरु मर्ने सम्भावना कम हुन्छ जसले गर्दा सल्लाको वन विनाश हुन पाउँदैन ।
- यसले रुखको हावाहुरीबाट लड्ने प्रतिरोधात्मक क्षमता ह्रास गराउँदैन ।
- सल्लाको जंगलमा आगलागी हुने सम्भावनालाई न्यून गर्दछ ।
- स्टिमुल्याण्टको रुपमा प्रयोग गरिने अम्लीय सम्मिश्रणले (H2SO4 (20%) + HNO3 (20%)) गर्दा खोटोको बढावलाई नियमित गराई उत्पादकत्व पनि बढाउँदछ ।
- यसबाट खोटो कम खेर जान्छ ।
- फ्रेन्च कम र लिप प्रविधि भन्दा प्रति सिजन रुखबाट ५०% बढी खोटो उत्पादन हुन्छ । (रिल प्रविधिबाट खोटो निकाल्ने दिग्दर्शन २०६१)
रिल प्रविधि भन्दा फ्रेन्च कप र लिप प्रविधि निम्न कारणहरुले गर्दा अनुपयुक्त वा वेफाइदाजनक मानिएको छ ।
- Kausal and Sharma (1988) का अनुसार रिलविधिको तुलनामा फ्रेन्च कप र लिप प्रविधिद्धारा खोटो संकलन गर्दा करिब २२% कम खोटो उत्पादन हुने गर्दछ ।
- खोटो संकलन गर्दा लगाइने घाउको गहिराई रिल प्रविधिमा भन्दा धेरै बढी हुने हुनाले त्यसको पुरिने क्रम पनि ढिलो हुन्छ ।
- Chaudhari at. al (1988) का अनुसार French Cup and Lip Method मा भन्दा Rill Method अपनाई खोटो संकलन गर्दा ४ गुणा चाँडै घाउ पुरिन्छ ।
- French Cup and Lip Method बाट खोटो संकलन गर्दा घाउ गहिरो र ठूलो बनाइने हुनाले रुखको हावाहुरीबाट बचाउ गर्ने क्षमता स्वभाविक रुपमा ह्रास हुनुका साथै खोटो संकलन भएसम्मको लम्बाई भागको काठ व्यापारिक प्रयोजनमा नआई खेर जान्छ ।
- French Cup and Lip Method बाट खोटो संकलन हुने रुखको घाउ लागेको भागमा तलदेखि माथिसम्म खोटो बगिरहने हुनाले त्यस्तो खोटो प्रज्जलनशिल हुने भई आगलागिको जोखिम बढ्ने देखिन्छ ।
- French Cup and Lip Method द्धारा खोटो संकलन गराउँदा प्रत्यक्ष रोजगारीमा खासै बृद्धि हुने देखिदैन ।
- रिल प्रविधिबाट खोटो निकाल्ने दिग्दर्शन २०६१ अनुसार फ्रेन्च कप र लिप प्रविधि अपनाई खोटे सल्लाको प्राकृतिक वनबाट वर्षेनी २१,७०० टन खोटो दिगो रुपमा उत्पादन गर्न सकिन्छ भने रिल प्रविधि अपनाएमा उत्पादन करीब २७,००० टन प्रतिवर्ष हुने उल्लेख गरिएको छ ।
समस्याहरु :
१. सल्लाको वनको मुख्य समस्याको रुपमा रहेको आगलागिका कारण स्थानीय व्यक्तिहरुको चेतनाको कमि वा तिनीहरुले गाई वस्तुलाई चरिचरण गराउन लैजादा लोटनबाट बच्न अथवा सजिलैगरी हिडडुलको लागि सल्लेपीर सफा गर्ने उद्देश्यले आगो लगाउने गरेको तथा कतिपय ठाउँमा पूरानो झाडी गाई वस्तुले खान नरुचाउने घाँसहरुलाई नाश गर्न तथा नयाँ पोषिलो घाँस पलाउन पनि आगो लगाउँदा अनियंत्रित आगो लाग्ने गरकेा ।
२. सा.व. हरुबीच वन सिमाना विवाद, वन दर्ता तथा नविकरण आदि कारणहरुले गर्दा खोटो संकलन गर्न सा.व.हरुसँग गरिनु पर्ने सहमति सम्झौता इत्यादी कार्यमा अवरोध सिर्जना भएको तथा त्यस्ता सा.व.हरुबाट खोटो निकाल्न ज्यादै कठिनाई उठाउनुपरेको ।
३. खोटे सल्लाको वन क्षेत्रमा स्थानीय व्यक्तिहरुले खोटे सल्लाको रुखबाट दियालो निकाल्न बन्चरो, बसुलो आदि जस्ता धारिलो हतियार प्रयोग गरी जथाभावी घाउ बनाई रुखको हानी नोक्सानी मात्रै नगरि वनको स्वरुप पनि कुरुप बनाई बनको विनाश भईरहेको ।
खोटो संकलन कार्यमा विद्यमान चुनौतीहरु :
१. जाजरकोट तथा रुकुम दुवै जिल्लाहरुमा रहेका खोटे सल्लाका वनबाट खोटो संकलन गर्न बाटोघाटोको असुविधाले गर्दा अत्यन्तै कठिनाई उठाउनुपरेको छ । अर्थात खालि टिन जंगल सम्म पुर्याउन तथा खोटोका टिनहरु जंगल डिपोबाट सडक डिपो हुँदै जिल्लाको मुख्य घाटगद्दी गर्ने डिपोसम्म ल्याउन मानिस, खच्चरबाट मात्रै सम्भव भएकोले ढुवानी गर्न ज्यादै खर्चिलो भई अन्य जिल्लाहरुको तुलनामा प्रति के.जी. संकलन गर्न बढि मोल पर्नु तथा प्रशोधित रोजिन र टर्पेन्टाइन बेच्न अरु उद्योगहरुकै तुलना (दर रेटमा) बेच्नु पर्ने ।
२. स्थानीय स्तरमा उद्योगको पहलमा खोटो संकलन सम्बन्धि तथा वनको महत्वबारे जनचेतना अभिवृद्धि गोष्ठि संचालन भए पनि चेतनामा खासै परिवर्तन नदेखिएको हुँदा खोटो संकलन गर्न सम्बन्धित सा.व.उ.स.हरुसँग सहमति/सम्झौता गर्न निकै अफठ्यारो परिस्थितिको सामना गर्नु परेको ।
३. खोटो संकलनबाट सम्बन्धित सा.व.हरुलाई हुने फाइदा तथा सम्बन्धित खोटे सल्ला वनको संरक्षण, उचित सदुपयोग समेत हुने बारे चेतना नभएर सा.व. समूहहरु खोटो संकलन कार्यमा अग्रसर नुहुन र सम्बन्धित निकायबाट पनि यसको लागि खासै पहल नहुनु ।
४. जिल्लामा सामाजिक, आर्थिक, राजनैतिक विकासमा लागेका सरकारी तथा गैर सरकारी संघ, संस्था तथा व्यक्ति बीच सहकार्य र समन्वयको अभाव भईरहेको ।
५. जाजरकोट तथा रुकुम जिल्लाहरुमा स्थानीय व्यक्ति खोटो संकलन काममा रुची नदेखाउनु वा खोटो निकाल्ने कामदारहरु न्यून संख्यामा पाए पनि तिनीहरुमा सिप, ज्ञान कति पनि नहुनु । त्यस भेगका स्थानीय व्यक्तिहरु प्रायः जसो जडिबुटी संकलन गर्न डोल्पा, जुम्ला आदि जिल्लाहरुमा जान बढी आकर्षित हुने गरेको हुँदा स्थानीय कामदारहरुलाई खोटो संकलन काममा प्राथमिकता दिए पनि बाध्यता वंश गैर स्थानीय कामदार ल्याई खोटो निकाल्न चुनौतीपूर्ण रहेको ।
६. यस उद्योगको कार्य क्षेत्र जिल्लाहरु जाजरकोट र रुकुमको अधिकांश भाग यातायातको पहुँच नभएको हुँदा ढुवानी कार्य गर्न जोखिमपूर्ण रहेको साथै अत्यन्तै खर्चिलो मात्रै नभई जंगलको भौतिक, जैविक अवस्थाका कारण कामदारहरु पनि खोटो निकाल्न ज्यादै कठिनाई महशुस गरेको हुनाले स्वीकृत क्षमता अथवा जंगलको क्षमता अनुसार खोटो संकलन हुन नसकिएको अवस्था ।
७. सम्बन्धित जि.व.का.हरुको प्राविधिक कर्मचारी वा अन्य कर्मचारीहरुको सम्बन्धित गा.वि.स.हरुको सम्बन्धित सा.व.उ.स.हरुसँग हुनुपर्ने प्राविधिक सहयोग, समन्वय, खोटो संकलन गर्न हुनुपर्ने चेतनाको अभिवृद्धि जस्ता कार्यक्रमहरुको प्रभावकारी पहुँचको अभावका कारण खोटो संकलन कार्यमा अवरोध सिर्जना भएको ।
सुझावहरु :
१. सम्बन्धित जिल्लाहरुका सम्बन्धित गा.वि.स.हरु अर्न्तगत रहेका सा.व.उ.स. हरुले जानि जानि वा नजानि अथवा उद्योग सँग भए गरेका सहमति/सम्झौता विपरित कार्य गरेमा वा वन ऐन २०४९ तथा वन नियमावली २०५१ विपरित कार्य गरेको उद्योगले ठहर गरेमा सो को कानून बमोजिमको कारवाहीका लागि सिफारिश गरेको खण्डमा सम्बन्धित जि.व.का. हरुले सोको यकिन गरि नियम बमोजिम कारवाही गरि/गराई खोटो संकलन कार्य प्रभावकारी ढंगले लक्ष्य अनुरुप निकाल्न सहयोग पाउने आशावादी रहेको ।
२. यातायातको पहुँच भएको तथा नभएको अर्थात खोटो संकलनका लागि प्रयोग हुने गमला, टिन, औजार, एसिडस् आदि ढुवानीको सर्न्दभमा सुगम/दुर्गम, सजिलो/अफठ्यारो पर्ने मध्य पहाडी जिल्लाहरुमै पनि जाजरकोट तथा रुकुम जस्ता दुर्गम र अति बिकट जिल्लाहरुबाट खोटो निकाले बापत लाग्ने राजश्व दर प्रति के.जी.मा अरु सुगम जिल्लाहरुको तुलनामा वन विभागले सम्बन्धित उद्योगलाई सहुलियत दिने सवालमा दुई मत नहुने देखिन्छ । अतः जिल्लाहरुको प्रकृति अनुसार स्तर निर्धारण गरी सोही अनुसार नयाँ राजश्व दर प्रति के.जी. (रु.३।– प्रति के.जी. भन्दा कम) निर्धारण गर्ने गराउनु मात्र नभई उपरोक्त समस्या तथा चुनौतीहरुलाई मध्य नजर गर्दै सम्बन्धित उद्योगलाई सोही अनुसारको अनुकुल वातावरण बनाउन सम्बन्धित निकायहरुबाट उचित सहयोग/सहुलियत प्रदान गर्ने प्रमुख आवश्यकता रहेको छ ।
निष्कर्षहरु :
खोटे सल्ला रुखको खासै हानी नोक्सानी नपुर्याई खोटोको दिगो संकलन गर्ने नयाँ प्रविधि रिल प्रविधि हो जुन वैज्ञानीक, कम खर्चिलो तथा वातावरणमा खासै असर नपर्ने प्रविधिको रुपमा सावित भएको देखिन्छ । तत्कालिन श्री ५ को सरकारले २०३३ सालमा राष्ट्रिय वन योजना लागु गरि खोटो जस्ता वन प्रदावारमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन गर्ने निति ल्याए अनुरुप माथि दर्शाइएका चुनौतीहरुका बाबजुद पनि खोटोमा आधारित निजी उद्योगहरु खोटो संकलन कार्यमा जुटिरहेका विद्यमान अवस्थामा यसले वनको संरक्षण एवं उचित सदुपयोग मात्रै नभई स्थानीय स्तरमा आय आर्जन, रोजगारी, ग्रामिण जनताको जिविकोपार्जन, राष्ट्रिय आयमा योगदान पुर्याई राष्ट्रिय अर्थतन्त्रलाई मजबुत सबल एवं अभिबृद्धि गरी सहशताब्दी प्रमुख लक्ष्य गरिब न्यूनिकरणको राष्ट्रिय अभियानको सुनिश्चितामा थप टेवा पुर्याएको कुरा नकार्न सकिन्न । त्यसकारण रोजिन र टर्पेन्टाइन जस्ता निजी उद्योगहरुको आर्थिक विकास तथा प्रर्वद्धन गर्न सम्बन्धित नियकाहरुबाट माथि औल्याइएका अफठ्यारा, समस्या तथा चुनौतीहरुको न्यूनिकरण गर्ने थप प्रयास एवं सहयोगको खाँचो रहेको आजको प्रमुख आवश्यकता हो ।
सन्दर्भ सामग्रीहरु :
१. रिल प्रविधिबाट खोटो निकाल्ने दिग्दर्शन, २०६१, वन सदुपयोग शाखा, वन अनुसन्धान तथा सर्वेक्षण विभाग, वन तथा भू–संरक्षण मंत्रालय, बबरमहल, काठमाण्डौ ।
२. वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०६०, श्री बगलामुखी रोजिन एण्ड टर्पेन्टाइन इं. (प्रा.) लि., गनापुर–२, बाँके
